Logo

युवाको सार्थक र समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनुपर्छः राजेन्द्र महतो



काठमाडौं, २ वैशाख । युवाको सार्थक र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेमात्र समाजले समृद्धिको मार्ग पहिल्याउन सकिने आवश्यकता औँल्याइएको छ ।

नयाँवर्ष २०७९ को उपलक्ष्यमा सुडी समाज काठमाडौँ, युवा उपसमितिद्वारा आज यहाँ आयोजित ‘शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन’ कार्यक्रमका वक्ताले सुडी समुदायका युवालाई स्वरोजगार, उद्यमशीलता, नवप्रवर्तन र सीप विकासका माध्यमबाट समाज निर्माणको मूल प्रवाहमा समाहित गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

सो अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले सामाजिक सङ्घसंस्थाले समाजको रुपान्तरणका लागि कार्य गर्नुपर्ने बताउँदै समाजमा देखिएको विकृति विसङ्गतिको न्यूनीकरण गरी सबल, सक्षम र सुदृढ समाज निर्माणका लागि अग्रसर हुन युवालाई आग्रह गरे ।

सकारात्मक सोचका साथ गर्ने असल कामबाट सफलता प्राप्त हुने उल्लेख गर्दै उनले मानवीय र सामाजिक सेवाबाट मात्र आत्मसन्तुष्टि हुने बताए ।

सुडी समाज महासङ्घ नेपालका अध्यक्ष परमेश्वर महासेठले सुडी समुदायको सशक्तीकरण, हकअधिकार संरक्षण र मौलिक संस्कृतिको प्रवद्र्धनका लागि सशक्त समाज निर्माण गर्नुपर्ने बताउँदै समाजका सबै सदस्यबीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी समृद्ध समाज निर्माण गर्न मद्दत पुगोस् भन्ने कामना गरे ।

सुडी समाज महासङ्घ नेपालको सल्लाहकारद्वय वरिष्ठ अधिवक्ता रामकृष्ण निराला र इञ्जिनीयर ओमप्रकाश महतो, सुडी समाज काठमाडौँको सल्लाहकारद्वय विश्वनाथ साह र जयशङ्कर महतो, अध्यक्ष डा अशोक महासेठ र महासचिव शीतलप्रसाद महतोले समाजको संस्थागत विकास र उन्नयनका लागि यस समुदायका सबैपक्ष सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै समाजभित्रको यथार्थलाई आत्मसात् गरेर यसको विकास र विस्तारमा युवाले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यमा निर्वाचित भएकोमा मिर्चैया–६ सिरहाका डा गुरुशरण साह र अमेरिकाको कोलगेट विश्वविद्यालयमा इञ्जिनीयरिङ विषयमा पूर्ण छात्रवृत्ति पाउने जनकपुरधाम–१५ धनुषाका राघवराज साहलाई प्रशंसापत्रद्वारा सम्मान गरियो ।

त्यस्तै ‘सुडी समुदाय काठमाडौँको दुई दशकः स्मारिक–२०७९’ को पनि विमोचन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्