Logo

निर्वाचन आचारसंहिता र समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने विषयमा अभिमुखीकरण



काठमाडौं, ६ वैशाख । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले मतदानस्थलसम्म मतदातालाई लैजाने र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने बताएका छन् ।

आसन्न स्थानीय तह निर्वाचनको सन्दर्भमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घको सहयोगमा निर्वाचन आयोगले आज आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

स्वतन्त्र, निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउनु सञ्चारमाध्यमको पनि कर्तव्य भएको उल्लेख गर्दै उनले समाचार सम्प्रेषणका क्रममा पत्रकार आचारसंहिता र निर्वाचन अचारसंहिताको पालना गर्न आग्रह गरे ।

“पत्रकारले निष्पक्षता र तटस्थताको पूर्णपालना गर्नुपर्छ, जनमत निर्माणका लागि आवश्यक विषयवस्तुको प्रसारण गर्नुपर्छ”, उनले भने, “पत्रकारहरुले कुनै पक्षविपक्षमा नलागी स्वतन्त्र भूमिका निर्वाह गर्नुपर्छ, तटस्थताको उच्च नमूना प्रदर्शन गर्न पत्रकार क्रियाशील हुनुपर्छ ।”

कार्यक्रममा फोटो पत्रकार, अनलाइन मिडियाका पत्रकार र निर्वाचन विधामा समाचार लेख्ने पत्रकारलाई निर्वाचन आचारसंहिता, विषयवस्तुको उठान, समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्नेलगायत विषयमा अभिमुखीकरण गरिएको थियो । निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले ‘निर्वाचन आचारसंहिता, २०७८ कार्यान्वयन र फोटो पत्रकारसँगको सहकार्य’, फोटो पत्रकार विकास रौनियारले ‘निर्वाचनको समयमा फोटो पत्रकरिताः विगत र वर्तमान’ तथा फोटो पत्रकार विकास कार्कीले ‘निर्वाचनसँग सम्बन्धित समाचार सङ्कलन, रिपोर्टिङ र फोटो पत्रकारिता’ विषयमा प्रस्तुति दिएका थिए ।

प्रेस काउन्सिलका सदस्य ठाकुर बेलबासेले ‘निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिको रोकथाम तथा निर्वाचनमा तिनले पार्न सक्ने प्रभाव’, खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपालले ‘निर्वाचनसँग सम्बन्धित समाचार सङ्कलन र रिपोर्टिङ’ तथा निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले ‘निर्वाचन आचारसंहिता, २०७८ को कार्यान्वयनमा अनलाइन मिडिया र सामाजिक सञ्जालसँगको सहकार्य’ विषयमा प्रस्तुति दिएका थिए । रासस÷ तस्विरः मुकुन्द कालीकोटे



प्रतिक्रिया दिनुहोस्