कैलाली, ६ वैशाख , धनगढीमा जारी ‘मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी’ प्रतियोगिताको विभागीय टोली नेपाल आर्मी क्लब र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।
अखिल नेपाल कबड्डी सङ्घको आयोजनामा सुरु भएको सो प्रतियोगितामा ती दुई विभागीय टोलीले पहिलो दिनका दुवै खेलमा जीत हात पार्दै अन्तिम चारणमा स्थान बनाएका हुन् । पहिलो खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ९१–३२ ले हरायो भने पाँचौँ खेलमा कर्णाली प्रदेशलाई ६९–९ ले किनारा लगायो ।
त्यस्तै सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ६६–२७ ले हराउँदा छैटौँ खेलमा गण्डकी प्रदेशलाई ५६–१८ ले हरायो ।
सोमबार नै भएका खेलमा नेपाल एपिएफ क्लब र मधेस प्रदेश पनि विजयी भएका छन् । नेपाल एपिएफ क्लबले लुम्बिनी प्रदेशलाई ५३–२२ ले हरायो भने मधेस प्रदेशले बागमती प्रदेशलाई ३६–२९ ले किनारा लगायो ।
प्रतियोगितामा आजै लिग चरणका खेलहरु हुनेछन् । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भइरहेको छ । प्रतियोगिताको विजेताले नगद रु एक लाख ५० हजार उपविजेताले नगद रु ८० हजार र सेमिफाइनल पुगेका दुई टोली नगद रु ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले शुभारम्भ गरे । सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रवद्र्धक रहेको प्रतियोगिता देशकै सर्वाधिक धनराशिको प्रतियोगिता रहेको आयोजकको दाबी छ । रासस