Logo

माग पुरा नभए संसद चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी



काठमाडौं, १८ पुष । नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मण किशोर चौधरीले टीकापुर घटनालाई राजनीतिक रुपले निराकरण गर्नु पर्ने बताएका छन् ।

सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठकमा सांसद चौधरीले टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर बन्दी जीवन बिताइरहेका रेशम चौधरी लगायतको रिहाइको माग गरेका हुन् ।

‘आपराधिक होइन, राजनीतिक रुपले निराकरण गरिनुपर्छ, हालसम्म जननिर्वाचित माननीय रेशमलाल चौधरीज्यूलाई अन्यायपूर्वक अपराधी बनाएर डिल्लीबजारको कालकोठरीमा राखिएको छ । साथै धनगढीको कारागारमा पनि हाम्रै दाजुभाइहरु राखिनुभएको छ, उहाँहरुलाई निकास दिनुपर्छ,’ प्रदेशसभामा बोल्दै उनले भने ।

टीकापुर घटना घटेको सात वर्ष वितिसक्दा पनि सरकारले कुनै निकास दिन नसकेको उनको आरोप छ । थारु समुदायको पर्व माघीसम्म कैदी रिहाइ नभए आगामी बैठक अवरुद्ध पार्ने उनको चेतावनी छ ।

‘माघमा थारुहरुको महान पर्व भएकाले यो चाडपर्वसम्म टीकापुर घटनाका राजबन्दीहरुलाई निकास दिइएन भने आउँदा अधिवेशनमा सदन अवरुद्ध गर्नेछौँ,’ उनले भने।

 



प्रतिक्रिया दिनुहोस्