Logo

धर्म निरपेक्षताको आडमा धर्म परिवर्तनको डढेलो लागिरहेको छ– कमल थापा (भिडियोसहित)



काठमाडौं, २१ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफू राष्ट्रियता, सनातन हिन्दु राष्ट्र, लोकतन्त्र र उदार अर्थतन्त्रमा आधारित बलियो राजनीतिक शक्ति निर्माणमा लागेको दाबी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्,’  कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफ्नो राजनीतिक जीवन समाप्त पार्न योजनाबद्ध र संगठित रुपमा भ्रम फैलाउने काम भइरहे पनि राष्ट्रियता, सनातन हिन्दु राष्ट्र, लोकतन्त्र र उदार अर्थतन्त्रसहितको बलियो राजनीतिक शक्ति निर्माण गर्ने पक्षमा आफू रहेको उनले बताएका हुन् ।

साथै, एमालेले पछिल्लो समयमा राष्ट्रियताको सवालमा आफूलाई सशक्त ढंगले अगाडि बढाएको पनि उनको दाबी छ । आगामी दिनमा जनताको विश्वास जितेर बलियो राष्ट्रवादी शक्ति निमार्ण गर्न सक्नेमा आफू विश्वस्त रहेको उनले बताए । सिंगो मुलुक गणतन्त्रमय भएको अबस्थामा राजा र राजसंस्थाको एजेण्डा बोकेर अनेक प्रकारको आरोप र आक्रमण सहेपनि राजा र राजतन्त्रको गलत व्यवहार र नीतिका कारण आफू गणतन्त्रवादी बनेको उनको दाबी छ ।

‘सिंगो मुलुक गणतन्त्रमय भएको बेलामा .पनि अनेक प्रकारका आरोप र सांघातिक आक्रम सहेर पनि मैले राजतन्त्रको एजेण्डा बोकेर हिँडे । देशको धरातलीय यथार्थ, जनभावना र राजा वा राजसंस्थाको गलत व्यवहार, नीति र गतिविधिको कारणले गर्दा मैले राजसंस्थाको एजेण्डा छोडिसकेको छु । म लोकतन्त्रको बाटोमा आएको छु,’ उनले भने ।

आफूले राजसंस्थाको एजेण्डा त्यागेपनि हिन्दु राष्ट्र बनाउने एजेण्डा कायमै रहेको उनले बताए । धर्म निरपेक्षताको आडमा देशमा धर्म परिवर्तनको डढेलो लागिरहेको पनि उनको आरोप छ । देशका बहुसंख्यक जनताले सनातन धर्म, संस्कृति र परम्परामा आस्था राख्ने भएकालेले सबै धर्मको सम्मान र सहकार्य हुने गरि पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र आजको आवश्यकता रहेको उनले बताए ।

‘नेपालमा बहुसंख्यक सनातन धर्म, संस्कृति र परम्परामा आस्था राख्ने मानिस छन् । हामी सबै धर्मलाई सम्मान र सहकार्य गरी पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रका पक्षमा छौं,’ उनले भने । साथै, यसअघिको नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई अपवित्र गठबन्धनको संज्ञा दिँदै उनले अहिलेको सत्ता गठबन्धन पनि जनताको आदेशबाट निर्माण नभएको बताए ।

अहिलेको गठबन्धनलाई सरकार सञ्चालनको म्याण्डेट नभएको पनि उनको आरोप छ । एकअर्काको राजनैतिक विचारलाई समाप्त पारेर आफू स्थापित हुन चाहने शक्ति केवल सत्ताका लागि अहिले एक ठाउँमा उभिएको र यसले देशलाई राजनितिक अस्थिरता र अराजकताको दलदलमा पुर्‍याएको पनि उनले आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्