Logo

संघीय शिक्षा ऐन मेरो प्राथमिकतामा छ– प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २३ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारले संघीय शिक्षा ऐन जारी गर्ने विषय आफ्नो प्राथमिकतामा राखेको बताएका छन् । शनिबार काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको बताएका हुन् ।

‘अघिल्लो सरकारको कार्यकालमा पनि संघीय शिक्षा ऐनका केही काम भएका छन् । तर, ऐन जारी भएन। यसपटक संघीय शिक्षा ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा छ। यो ऐन जारी गरेपछि शिक्षा क्षेत्र र शिक्षकहरूसँग सम्बन्धित अधिकांश समस्या सम्वोधन हुन्छन्,’ उनले भने ।

साथै, शिक्षकहरुको सम्मानित जीवनका लागि सरकारले सोचिरहेको पनि उनले बताए । ‘शिक्षक अस्पताल हाम्रै पहलमा अगाडि आएको छ । यसलाई सफल कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रै हो। यसका साथै शिक्षकहरूको सम्मानित जीवनका निम्ति हामीले केही न केही पहल लिनैपर्छ। त्यसतर्फ पनि सरकारले सोचिरहेको छ,’ प्रचण्डले भने ।

देशको राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणमा शिक्षकहरूको अहम् भूमिका भएकोमा प्रधानमन्त्रीले जोड दिए । ‘सामाजिक चेतनाका निम्ति, राजनीतिक जागरण र राजनीतिक एवं सामाजिक उत्तराधिकारी निर्माणमा शिक्षकहरूको महत्वपूर्ण योगदान रहँदै आएको छ। यसमा हामी गर्व गर्नुपर्छ,’ उनले भने ।

एउटा पनि नराम्रो काम गर्दिनँ, गर्न दिन्नँ

बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले आफ्नो तेस्रो कार्यकाललाई चुनौतीपूर्ण अवसरका रूपमा चित्रित गरे । उनले भने, ‘तेस्रो कार्यकाल मेरा निम्ति चुनौतीपूर्ण अवसर हो । यसलाई हामीले पूराका पूरा सदुपयोग गर्न सक्नुपर्छ । म एउटा पनि नराम्रो काम नगर्ने र गर्न नदिनेमा सचेत छु। सिंगो देशले हामीलाई आशाको नजरले हेरिरहेको छ। जनताको त्यो आशालाई सम्वोधन गर्न तपाई हामी सबै गम्भीर र जिम्मेवार हुनुपर्छ।’

आफ्नो पहिलो कार्यकलमा नयाँ नेपालको मार्गचित्र प्रस्तुत हुनुका साथै विकास र समृद्धिको बीजारोषण भएको उनको दाबी छ । किसान लगायत जनताको ऋण मिनाहा गर्न, सामाजिक न्याय स्थापित गर्न आफू लागि परेको उनले बताए । दोस्रो कार्यकालमा संविधान कार्यान्वयन, आर्थिक समृद्धि, संघीयताको जग बसाल्ने कामका लागि राम्रो पहल भएको र तेस्रो कार्यकाल त्यसभन्दा नमुना बनाउने उनले बताए । यो सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गर्ने पनि उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot