Logo

देउवाको सक्रियताले सत्ता गठबन्धनमा तरंग



काठमाडौं, २३ पुष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सक्रियतासँगै सत्ता साझेदार दलमा अविश्वासको वातावरण सिर्जना भएको छ । तत्कालीन पाँच दलीय सत्ता गठबन्धन भत्काएर नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) सहितका सात दल र तीन स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री दाहालले यही पुष २६ गते संसद्मा विश्वासको मत लिँदैछन् । दाहाललाई विश्वासको मत लिन नदिनको लागि देउवाले सक्रियता बढाएको चर्चा भएको छ ।

संवैधानिक व्यवस्था अनुसार यदि प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । यस आधारमा पनि प्रचण्डलाई विश्वासको मत प्राप्त गर्नबाट असफल बनाएर देउवा फेरि सत्तारोहणको प्रयासमा छन् ।

यस क्रममा देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरिसकेका छन् । साथै, जसपाका अध्यक्ष यादवलाई प्रचण्डलाई विश्वासको मत नदिनसमेत आग्रह गरेका थिए । त्यसैगरी, राप्रपाका अध्यक्ष लिङ्देनलाई देउवाले प्रधानमन्त्री बन्न प्रस्ताव गरेकोसमेत बताइएको छ ।

देउवा निवास धुम्बराहीमा हिजो (शुक्रबार) उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितको बैठकसमेत बसिसकेको छ । प्रचण्डले विश्वासको मत लिँदै गर्दा कस्तो रणनीति अपनाउने भन्ने सन्दर्भमा कांग्रेस संसदीय दलको बैठकसमेत आज बस्दैछ ।

देउवाको सक्रियताले प्रधामन्त्रीमा प्रचण्डलाई समर्थन गरेका दलहरुले नै विश्वासको मत नदिने हुन कि भन्ने आशंका उब्जाएको छ । तर, प्रचण्डले विश्वासको मत नपाउन पर्ने कुनै कारण नरहेको एमालेका नेताहरुको दाबी छ । यो गठबन्धन पाँच वर्षसम्मै कायम रहने र प्रचण्ड र गठबन्धन सफल हुने उनीहरुको तर्क छ ।

कांग्रेसभित्रै पनि गठबन्धन टुट्नुमा आफूहरुकै कमजोरी रहेको संस्थापनइत्तर पक्षको बुझाइ छ । प्रचण्डले विश्वासको मत पाउन नसक्ने वातावरण बनाउनु भन्दा पनि प्रचण्ड नेतृत्वको सरकारमा कसरी सहकार्य गर्न सकिन्छ भन्ने विकल्प खोज्नुपर्ने इत्तर पक्षको मत रहेको छ । केही नेताहरु प्रचण्डलाई विश्वासको मत पाउनबाट रोकेर देउवालाई पुनः सत्तारोहण गराउने पक्षमा देखिएपनि संस्थापन इत्तरको फरक मतले देउवा आफैं अलमलमा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot