Logo

भ्रष्टाचार कम गर्ने हो भने काठमाडौंका आधा घर खाली हुन्छ– पुरञ्जन आचार्य (भिडियोसहित)



काठमाडौं, २६ पुष । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रधानमन्त्री बन्नु अप्रत्यासित र अराजक भएको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादी भन्दा शक्तिशाली दुई वटा पार्टी अगाडि हुँदाहुँदै प्रचण्ड प्रधानमन्त्री बन्नुलाई अराजक मानिने बताएका हुन् ।

अन्य देशमा पहिलो पार्टीले नै सरकार गठनको पहल गर्ने प्रचलन रहेको बताउँदै नेपालमा तेस्रो पार्टीलेसमेत सरकार गठन गर्दा अरु देशको जस्तो लोकतन्त्र फस्टाउन नसकेको उनले बताए । प्रचण्डले आफ्नो कार्यकालमा केही गर्न नसक्ने पनि उनको दाबी छ । ‘प्रचण्डले केही गर्न सक्नु हुन्न । उहाँलाई जनताले त्यो म्याण्डेट नै दिएका छैनन्,’ उनले भने ।

भ्रष्टाचार न्यूनीकरणका लागि प्रचण्ड पात्र नै नभएको पनि उनले बताए । भ्रष्टाचार कम गर्दा काठमाडौंका आधा घर खाली हुने उनको दाबी छ । ‘नेपाल भ्रष्टाचारको जगमा उभिएको देश हो । नेपालमा भ्रष्टाचार कम गर्ने हो भने काठमाडौंका आधा घर खाली हुन्छन् । आधा प्राइभेट स्कूल, आधा रेस्टुरा, मेडिकल, हस्पिटल सबै खाली हुन्छन् । भ्रष्टाचार न्यूनीकरणका लागि प्रचण्ड त्यो पात्र नै होइन्,’ उनले भने ।

साथै, नेपाली कांग्रेसको लिडरसिप रिटायर्ड जस्तो भएको उनले बताए । कांग्रेसको चिहान खन्ने काम कांग्रेसका कार्यकर्ताले नै गरिरहेको उनले दाबी छ । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकार निर्माण गर्ने क्रममा योजना बनाएर सभापति शेरबहादुर देउवासँग हस्तक्षेपकारी भूमिका खेल्नुको साट्टा पोखराको साहित्य सम्मेलनमा सहभागी हुनु त्रुटिपूर्ण भएको उनको ठहर छ ।

साथै, गठबन्धनको बलमा चुनाव जितेर आएपछि प्रधानमन्त्रीमा शेरबहादुर देउवा नै चाहियो भन्नु कांग्रेसको कमजोरी भएको उनले बताए । कांग्रेस महामन्त्री थापाको अगाडि प्रश्नैप्रश्न खडा भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot