Logo

प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैमा कांग्रेसलाई प्रतिपक्षमा बस्न कुनै बाधा छैन– बद्री पाण्डे (भिडियोसहित)



काठमाडौं, २७ पुष । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीका सांसदले विश्वासको मत दिनु अप्रत्याशित भएको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले खेल बिग्रियको र बिग्रिएको खेल यो विन्दुमा आउँदा अप्रत्यासित लागेको बताएका हुन् ।
साथै, कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदैमा पार्टी सरकारमा सहभागी भयो र संसद प्रतिपक्षविहिन भयो भन्नु अपव्याख्या हुने उनको तर्क छ । ‘हाम्रो दलको नेताले रोस्टममा उभिएर भन्नु भएको छ, हामी सरकारमा सहभागी हुन्नौं, प्रतिपक्षमै बस्छौं,’ उनले भने । साथै अहिलेको संविधान र संसदीय अभ्यासका आधारमा पनि कांग्रेसलाई प्रतिपक्षमा बस्न कुनै बाधा नरहेको उनको दाबी छ । ‘मनमोहन अधिकारीलाई २०५१ सालमा विश्वासको मत दिएर प्रतिपक्षको रुपमा संसदमा सक्रिय रह्यो । पछि हामीले नै त्यो सरकारलाई अविश्वासको प्रश्ताव ल्याउनु पर्ने अवस्था आयो । हाम्रो संविधानको व्यवस्था, कानुनका व्यवस्था र विगतका नजीरहरु हेर्दाखेरी बाहिर जे कुरा भइरहेको छ त्यो चाहिँ अपव्याख्या भइरहेको छ,’ उनले भने । साथै, एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा दिएको अभिव्यक्तिले फेरिपनि प्रतिगमनको खतरा बढेको उनको आरोप छ । यस आधारमा हिजो संविधान जोगाउन साथ दिएका प्रचण्डलाई संविधान माथि संकट आउँदा प्रचण्ड एक्लै छैनन् भन्ने सन्देशका लागि आफूहरुले विश्वासको मत दिएको उनले बताए ।

‘हिजो उहाँले (केपी शर्मा ओलीले) यसरी झस्काइदिनु भयो कि फेरिपनि प्रतिगमनको खतरा छ । मैले मात्र होइन कि अब प्रचण्डलेसमेत प्रतिनिधिसभा विघटनको संघारमा लिएर जान्छन् भन्ने ढंगको डिक्टेड गर्ने गरी उहाँले अभिव्यक्ति दिएपछि हामीलाई के लाग्यो भने यो संविधानको रक्षा गर्ने कुरामा प्रचण्ड एक्लै छैनन्, प्रचण्ड इमानदार भएभने साथमा कांग्रेस पनि छ, भन्ने सन्देश दिने गरी हामीले विश्वासको मत दियौं,’ उनले भने । प्रचण्डलाई विश्वासको मत दिँदै गर्दा कुनै सम्झौता नभएको पनि उनले बताए । आफूहरु प्रतिपक्ष प्रतिपक्षमै बसौं भनेर आफ्नो भनाई राखिरहँदा नेताहरुले अलि गम्भीर ढंगले सोचेकाले विश्वासको मत दिएको उनले दाबी छ । ‘प्रचण्डले संविधान रक्षा गर्छन् भने इमानदारी पूर्वक हामी साथमा छौं । केपी ओलीले देख्नुभएको जस्तो षड्यन्त्रको गन्ध छैन,’ उनले भने ।

 

 

 



प्रतिक्रिया दिनुहोस्