Logo

प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा कांग्रेसको कुनै छलकपट छ भने दुर्भाग्य हुन्छ– धवल शमशेर (भिडियोसहित)



काठमाडौं, २७ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवल शमशेर जबराले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम राम्रो आएको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कुनै पार्टीको आफ्नै एजेण्डा नआएर देश र जनताको विकास गर्ने गरी सरकारको न्यूनतम साझा कार्यक्रम आएको बताएका हुन् । पृथ्वीनारायण शाह इतिहासको हिरो भएकाले उनको भूमिकालाई राष्ट्रले स्वीकारेको उनले बताए । पृथ्वीनारायण शाहकै हिम्मतले नेपाल देश कायम भएकाले पृथ्वी जयन्तीमा सरकारले विदा दिनुलाई इतिहासकै विजयका रुपमा लिनुपर्ने उनले बताए । ‘नेपाली इतिहासलाई आज न्याय मिल्यो । पृथ्वीनारायण शाह नभएको भए नेपालै रहन्थ्यो कि रहदैनथ्यो । उहाँले हिम्मतका साथ बाइसे र चौविसे राज्यलाई एक गरेर जुटाएर आज तपाईं हामी बस्न पाएका छौं । आज इतिहकासले न्याय पायो,’ उनले भने ।

सरकारमा राप्रपाको सहभागितालाई जित/हारको रुपमा लिन नहुने उनको धारणा छ । जनतालाई सुशासन र देशलाई सही मार्गमा लैजान आफूहरु सरकारमा सहभागी हुन लागेको उनको दाबी छ । नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्दैगर्दा कुनै स्वार्थ राखेको भए दुर्भाग्य हुने उनले बताए । ‘नेपाली कांग्रेसले राम्रो मनले सरकारलाई विश्वासको मत दिएको भए उत्तम गर्‍यो । यसको पछाडि कुनै योजना र राजनीतिक फोहोरी खेल लुकेको छ भने दुर्भाग्य हुन्छ,’ उनले भने ।

साथै, फरक प्रसंगमा उनले माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्नेमा आफूलाई विश्वास नरहेको र गरे पनि कुनै आपत्ति नरहेको बताए । इमानदार, बफादार मान्छे राष्ट्रपतिको रुपमा आउँदै गर्दा आफूहरुलाई स्वीकार्य रहेको उनले बताए । गठबन्धनले छानेको उम्मेदवार राष्ट्रपतिको लागि आफूहरुले स्वीकार्ने र राप्रपा राजसंस्था खोज्ने पार्टी भएकाले पशुपति शमशेर जबरा राष्ट्रपतिको उम्मेदवार बन्न नसक्ने उनको दाबी छ । राप्रपाले राजतन्त्रको एजेण्डा कहिले पनि नछोड्ने र अहिले संविधानको प्रयोग गर्दै देश र जनतालाई निकास दिन आफूहरु तयार भएको उनले बताए ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्