Logo

पृथ्वी जयन्तीमा गृहको विज्ञप्तिप्रति रवीन्द्र मिश्रको आपत्ति– ‘यो पुस्तालाई गलत ढंगबाट इतिहास पढाउने प्रयास भयो’ (भिडियोसहित)



काठमाडौं, २८ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले गृहमन्त्रालयले पृथ्वी जयन्तीमा निकालेको विज्ञप्तिप्रति आपत्ति जनाएका छन् । हिजो (बुधबार) प्राइम टाइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै पृथ्वी जयन्ती भनेर गृह मन्त्रालयले निकालेको विज्ञप्तिमा पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माता पनि नभनिएको र एकता दिवस पनि नभनिएको भन्दै मिश्रले आपत्ति जनाएका हुन् । पृथ्वीनारायण शाह सतप्रतिशत राष्ट्र निर्माता भएको दाबी गर्दै उनले गृहको यस्तो कार्यबाट यो पुस्तालाई गलत ढंगबाट इतिहास पढाउने प्रयास भएको बताए ।

‘यो अत्यन्त साँधुरो र विकृत सोचको परिणाम हो । किनभने पृथ्वी जयन्ती भनेर गृह मन्त्रालयले निकालेको विज्ञप्तिमा एकता दिवस पनि भनिएको छैन । पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता पनि भनिएको छैन् । पृथ्वीनारायण शाह सतप्रतिशत राष्ट्रनिर्माता हुन् । विकृत सोच राख्ने नेताहरुले बनाएको विज्ञप्तिमा यस्तो शब्द छुट्दा त्यसले कति ठूलो राजनीतिक अर्थ राख्छ भन्ने बुझ्नु पथ्र्यो । यो संकुचित मनको, विकृत सोचको र यो पुस्तालाई इतिहास गलत ढंगले पढाउने प्रयासको उपज हो,’ उनले भने ।

साथै, पृथ्वी जयन्तीमा विदा दिने सरकारको निर्णय पनि राप्रपाको व्यापक दवाबको परिणाम भएको उनको दाबी छ । सरकारको साझा न्यूनतम कार्यक्रममा राष्ट्रिय एकता सम्बन्धी खण्डमा विकृत सोच राखेर त्यसलाई संकुचन गर्न खोजेको उनले आरोप लगाए । नेपालको वामपन्थी पार्टीहरुले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरण नगरेर भुगोलको एकीकरण गरेको भनी गलत प्रचार गरेको उनले बताए । पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण गरे भावनात्मक एकीकरण गरेनन् भन्नु खोक्रो बुझाइ भएको उनको दाबी छ ।

साथै, पृथ्वीनारायण शाहको दिव्योपदेश आजको दिनमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै उनले त्यसलाई आजको दिनमा हामीले मनन र त्यो अनुसारको व्यवहार गर्न आवश्यक रहेको बताए । उनले पृथ्वीनारायण शाहको दिव्योपदेशको ‘नेपाल दुई ढुंगाबीचको तरुल हो’ लाई व्याख्या गर्दै उनले भने– ‘नेपाल दुई ढुंगाबीचको तरुल किन हो भने अहिले पनि भू-राजनीतिको चपेटामा नेपाल परेको छ, त्यो दुई विशाल ढुंगाको कारण न परेको छ । इन्डोप्यासिफिक रणनीति किन आयो ? किन भने चीन विशाल ढंगले शक्तिशाली भएर गयो । बेल्ट अन रोड किन आयो ? इन्डोप्यासिफिकमा भारत पनि छ । त्यो दुइटाको बीचमा हामी भुपरिवेष्टित रुपमा रहेका छौं । दुवै देश शैनिक रुपमा र आर्थिक रुपमा सक्षम छन् । प्रतिकात्मक रुपमा यो दुई ढुंगाबीचको तरुल भएन ?’

नेपाल पछिल्लो समय खोक्रो राष्ट्रियताले खाएको देशका रुपमा परिणत भएको उनले बताए । एमसीसीको विरोध गर्ने तिनै युवाहरु डिभी खुल्दा लाइन लागेर भर्ने गरेको बताउँदै उनले त्यसलाई खोक्रो राष्ट्रियता भएको बताए । साथै, नेपाली नोटमा पृथ्वी नारायण शाहको फोटो राख्नु पर्ने राप्रपाको माग रहेको पनि उनले बताए । राजाको स्वार्थ देशको दीर्घकालीन हितमा हुने पनि उनले बताए । नेपालमा राजसंस्थाको अनौपचारिक भूमिका कायमै रहेको उनको दाबी छ । राजा अहिले पनि यो देशको विभिन्न जातजाति, भाषाभाषि, क्षेत्रको एकताको प्रतीक हुन भन्ने कुरा कसैले पनि काट्न नसक्ने उनको दाबी छ ।

मिश्रले यो देशका लागि राजतन्त्र अति अपरिहार्य भएको बताए । इतिहास दोहोरिने बताउँदै उनले नेपालका धेरै ठूलो जनसंख्याले हिन्दु राष्ट्रको पक्षमा रहेको र झापामा हिन्दु राष्ट्र र राजसंस्थाको नाराले नै राजेन्द्र लिङरदेनले निर्वाचन जितेको उनले दाबी गरे । राप्रपामा संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र संघीयता खारेजीको एजेण्डा अझ दृढता कायमै रहेको पनि उनले बताए ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot