Logo

बागमतीमा उपसभामुख चयनका लागि निर्वाचन हुँदै



काठमाडौं, २ माघ । बागमती प्रदेशसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ । बागमती प्रदेश सभा सचिवालयका अनुसार सोमबार दिउँसो ३ बजे निर्वाचनको कार्यतालिका रहेको छ । उपसभामुखको लागि तीन जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनबाट एमालेकी अप्सरा चापागाईं उम्मेदवार छिन् । त्यसैगरी, नेपाली कांग्रेसबाट सुना परियार र नेपाल मजदुर किसान पार्टीबाट रिता काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् ।

बागमतीमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी चापागाईंको जित निश्चित छ । केन्द्रीय सत्ता गठबन्धनमै रहेका दलबाट बागमतीमा मुख्यमन्त्री, सभामुख नियुक्त भइसकेका छन् । कूल ११० सदस्यीय बागमती प्रदेश सभामा एमालेको २७, कांग्रेसको ३७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद रहेका छन् । माओवादीका शालिकराम जमकटेल ७० सांसदको समर्थनमा बागमतीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री जमकटेलले भोलि विश्वासको मत लिँदैछन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot