काठमाडौं, २ माघ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लामो समयसम्म मन्त्रिपरिषद् विस्तार हुन नसक्नु राम्रो सन्देश नभएको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसक्नु राम्रो नभएको बताएका हुन् ।
‘मन्त्रिपरिषद्ले यतिलामो समयसम्म पूर्णता नपाउनु यसले राम्रो म्यासेज गएको छैन । दलहरु बीचमा अहिलेसम्म पनि सघन रुपले छलफल भएको छैन । हाम्रै पार्टीसँग पनि प्रधानमन्त्रीले छलफल गर्नुभएको छैन । उहाँले दलहरुसँग छलफल गरेर मन्त्रिपरिषदलाई पूर्णता दिएर राज्यको कामकाजलाई गति दिनुपर्छ,’ उनले भने । सरकारको न्यूनतम साझा निति तथा कार्यक्रम आइसक्दा पनि मन्त्रिपरिषद विस्तारमा प्रचण्डले चासो नदिएको उनको आरोप छ । ‘साझा निति र कार्यक्रम बनेपछि मन्त्रिपरिष विस्तार हुनुपर्ने हो त्यो हुन सकेन । विश्वासको मत लिनु पहिले नै मन्त्रिपरिषद् विस्तार हुनपथ्र्यो । त्यो पनि हुन सकेन् । अब कुन साइत जुरेन त्यो मैले बुझ्न सकेको छैन्,’ उनले भने ।
सरकारको न्यूनतम साझा निति तथा कार्यक्रम इमानदारिता पूर्वक कार्यन्वयन भएको खण्डमा धेरै समश्याको समाधान हुने उनको दाबी छ । अहिलेको अहिलेको सत्ता गठबन्धन बन्नुमा प्रचण्ड–केपी ओलीको रहर नभएर बाध्यता भएको उनको टिप्पणी छ । नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनु सकारात्मक रहेको उनको धारणा छ । ‘कांग्रेसले विश्वासको मत दियो, त्यसलाई सकारात्म रुपमा नै लिनुपर्छ । किन दियो भनेर चर्चा गर्ने भन्दा उसलाई धन्यवाद दिनुपर्छ,’ उनले भने ।
साथै, प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचमा भएका कुनै सहमति तोडिएमा त्यसले अविश्वास र शंकट ल्याउने उनले बताए । सरकार निर्माण, सरकार परिचालन, राष्ट्रपति, उपराष्ट्रपति चयन लगायतमा जसपाको भूमिका महत्वपूर्ण भएको यादवले बताए । जसपालाई उपेक्षा गरेर राजनीतिक स्थायित्वको कल्पना गर्न नसकिने उनको दाबी छ ।
‘हामी राजनीतिक स्थायित्व, शान्ति, विकासतर्फ मूलुक जाओस् । संघीय गणतन्त्र संस्थागत होस्, समाजमा रहेको जातीय, वर्गीय, लैंगिक विभेद अन्त्य होस् भन्ने हामीले चाहेको हो,’ उनले भने । आफूले निर्वाचन हारेपनि राजनीति नहारेको उनको दाबी छ । जनताको जनादेशलाई सम्मान गर्दै काम गर्ने भन्दै आफूसँग धैर्यता रहेको र कुनै हतार नभएको उनले बताए ।