काठमाडौं, ४ माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारले जनभावना अनुसारका काम गर्ने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै शाहीले प्रधानमन्त्री प्रचण्डमा केही गर्छु भन्ने तीब्र इच्छाशक्ति रहेको र मन्त्रिमण्डलमा युवाहरुको बर्चश्व रहेकाले सरकारको राम्रो नतीजा आउने बताएका हुन् ।
‘केही गर्छु भन्ने उहाँ (प्रचण्ड) सँग तीब्र इच्छाशक्ति छ । सरकारमा सामेल भएका नयाँ अनुहारहरु धेरै युवा छन् । त्यसो हुँदा यी युवाहरुले तीब्र इच्छाशक्ति देखाएर आफ्नो क्षमता प्रदर्शन गर्छु भन्ने सोचका साथ काम भयो भने सरकारले राम्रो परिणाम निकाल्छ,’ उनले भने । कर्णाली बिकास पूर्वाधार र गरिबीको हिसाबले पनि मन्त्रिमण्डलमा समावेश हुन आवश्यक भएपनि अहिलेको मन्त्रिमण्डल विस्तारमा कर्णाली कुनै दलको प्राथमिकतामा नपरेको उनले बताए । प्रचण्ड राष्ट्रिय नेता भएको र अहिलेको राष्ट्रिय सहमतिको आवश्यकता भएकाले सबैलाई एक ठाउँमा ल्याउन प्रचण्ड बालकोट र कांग्रेसका शीर्ष नेतालाई भेट्न पुग्नु परेको उनको दाबी छ ।
जनतामा चुनाव, राजनीतिक दल र नेताप्रति वितृष्ण बढेको बताउँदै उनले जनतालाई आशामुखी बनाउन र संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दल एक ठाउँमा आउनु आजको आवश्यकता भएको औल्याए । अहिलेको संविधान धेरै ठूलो संघर्षबाट प्राप्त भएको बताउँदै उनले अहिले माओवादी सरकारमा जानुको मुख्य कारण संविधानको सफल कार्यान्वयन र संविधानको रक्षा भएको बताए । अहिले सरकारमा सहभागी भएका दलहरुलाई संविधान विरोधी र संघीयता विरोधी भन्न नमिल्ने उनले बताए । ‘उहाँहरु यो संविधानलाई पूर्णपालना गर्ने भनेर शपथ लिनु भएकोछ । उहाँहरुलाई कसरी संघीयता विरोधी भन्ने ? नमान्नेले त यो व्यवस्थामा नै सामेल हुन भएन नि । संविधानको बर्खिलापमा जाने अधिकार कसैलाई छैन,’ उनले भने ।
अहिलेको आवश्यकता राष्ट्रिय सहमतिको सरकार भएको उनले बताए । राष्ट्रिय सहमतिको सरकार बन्दै गर्दा कांग्रेसका नेतालाई राष्ट्रपति बनाउन प्रचण्डलाई कुनै आपत्ति नभएको शाहीको दाबी छ । यसका लागि कांग्रेसले एमालेसँगको पनि छलफल सुरु गर्नुपर्ने उनले बताए ।