Logo

काठमाडौंको कारागारमा सुदूरपश्चिमका मन्त्रीको भागबन्डा हुने



काठमाडौं, ४ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले काठमाडौंमा कारागारभित्र जेल जीवन बिताइरहेका रेशम चौधरीलाई भेटेर मात्रै मन्त्रिमण्डल विस्तारको तयारी गर्ने गरेका छन्।

मुख्यमन्त्री रावल र माओवादी संसदीय दलका नेता तथा बिनाविभागीय मन्त्री खगराज भट्ट भोलि मन्त्रिमण्डल विस्तारको विषयमा छलफल गर्न काठमाडौं आउन लागेको स्रोतले जनाएको छ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री रावललाई समर्थन गरेको थियो भने सभामुखमा तेस्रो पटक मात्रै सत्ता गठबन्धनलाई समर्थन गरेको थियो।

त्यस्तै उन्मुक्ति पार्टीले पाएको उपसभामुख पदपनि उसले नलिदाँ एमालेले पाएको थियो।

रेशमलगायत टिकापुर घट्‍नाका कैदीबन्दीलाई रिहाको मुख्यमाग गरिरहेको नागरिक उन्मुक्तिले सुदूरपश्चिममा विश्वासको मत फिर्ता गरे हालको सरकार अल्पमतमा पर्नेछ।

सोही कारण रेशमलाई मनाएर उनकै अनुसार मन्त्रीमण्डल विस्तार गर्न मुख्यमन्त्रीलगायतको टोली काठमाडौं आउँदै छ। केन्द्रमा पनि संघीय सरकार गठनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीले नागरिक उन्मुक्तीसँग पटक-पटक छलफल गरेका थिए।

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने अन्तिम समयसीमामा पनि उन्मुक्तिले सत्ता गठबन्धनलाई समर्थन नगर्दा अन्तिम समयमा प्रचण्ड र ओलीले एक महिनाभित्र रेशमलाई रिहा गर्ने प्रतिबद्धता गरेका थिए।



प्रतिक्रिया दिनुहोस्