काठमाडौं, १० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्याबिनेट भित्रकै मन्त्रीले संघीयताको विरोध गरेको भन्दै आपत्ति जनाएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि मंगलबार पहिलो पटक राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले मन्त्रिमण्डलमा बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रका विरुद्ध बोल्ने अधिकार नभएको बताएका हुन् । साथै, संघीयताको विरोधमा बोल्ने मन्त्रीहरुलाई स्पष्टिकरण सोधिने उनले बताए ।
‘मैले त यो कुरा प्रत्यक्ष हेरेको पनि होइन। मेरै क्याबिनेटको एकजना मन्त्रीले संघीयता खारेज गर्नुपर्छ भनेर यहाँ सुनाउनुभयो। मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो स्पष्टिकरणको विषय हुन्छ। मन्त्रिमण्डलभन्दा बाहिर गएर आफ्नो कुरा राख्ने अधिकार सबै माननीय सदस्य र राजनीतिक दललाई पनि हुन्छ। मन्त्रिमण्डलभित्र बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रका विरुद्ध बोल्ने र प्रचार गर्ने अधिकार नैतिक र कानुनी रुपले हुन सक्दैन। यो स्पष्टिकरणको विषय हुन्छ,’ उनले भने ।