Logo

पेरुमा समयअगावै निर्वाचन गराउन राष्ट्रपतिबाट भएको अनुरोध अस्वीकार



एजेन्सी । पेरुको संसद्ले निर्धारित समयभन्दा पहिले नै आम निर्वाचन गर्न राष्ट्रपतिले गरेको अनुरोध अस्वीकार गरेको छ। यो वर्षको डिसेम्बरमा आम निर्वाचन गर्न राष्ट्रपति डिना बोलुआर्टेले गरेको अनुरोध पेरुको कङ्ग्रेसले अस्वीकार गरेको हो।

राष्ट्रपतिले निर्वाचनका लागि गरेको प्रस्तावको पक्षमा ४५ र विपक्षमा ६५ मत परेको छ। गत महिना सदनले सन् २०२६ मा हुनुपर्ने निर्वाचनलाई आगामी वर्ष एप्रिलमा गर्न सहमति जनाएको थियो। संसद् विघटन गरी पूर्वराष्ट्रपति पेड्रो कास्टिलोलाई पक्राउ गरेपछि देशभर राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै हिंसात्मक विरोध प्रदर्शन भएका छन्। सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएका झडपमा ४७ जनाको मृत्यु भइसकेको छ।

विरोध प्रदर्शनका कारण सडक अवरुद्ध भएका छनभने खाद्यान्न, इन्धनलगायत अन्य आधारभूत वस्तुको अभाव भएको छ। सडक अवरोध हटाउन सरकारले थप सुरक्षाकर्मी परिचालन गर्ने बताएको छ।

पेरुको स्वतन्त्र मानवअधिकार कार्यालयले सडक अवरोधका कारण उपचार नपाएर दुई जना शिशुसहित १० जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ। रासस



प्रतिक्रिया दिनुहोस्