Logo

समयमै राष्ट्रपतिको निर्वाचन नभए देशमा अनिष्ट हुन्छ– शेखर कोइराला



काठमाडौं, १४ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी फागुन २८ गतेसम्म राष्ट्रपतिको निर्वाचन नभए अनिष्ट हुने टिप्पणी गरेका छन् । शनिबार विराटनगरमा प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले संविधानलाई स्विकारेर अगाडि बढ्ने व्यक्ति राष्ट्रपतिमा आवश्यक रहेको र त्यसका लागि समयमै निर्वाचन हुन आवश्यक रहेको बताएका हुन् ।

नागरिकता विधेयक सदनबाट पारित भएको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले अड्काएर राखेकोमा उनले आपत्ति जनाए । आगामी राष्ट्रपति निर्वाचनमा कांग्रेसले पनि उम्मेदवार तय गर्ने कोइरालाको दाबी छ । राष्ट्रपतिको उम्मेदवारलाई विजयी गराउन आफ्नो–आफ्नो ठाउँबाट सघाउन पनि उनले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

साथै, फरक प्रसंगमा उनले रबि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले देशमा कानुनी राज्य भएको प्रमाणित हुने गरी फैसला गरेको बताए । न्यायालय अडिग हुँदा सबैले न्याय पाउने कुरा रबिको घटनाले प्रमाणित गरेको उनको दाबी छ ।

‘रवि लामिछानेको घटनाले देशमा कानुनी राज्य छ भन्ने कुरा प्रमाणित भएको छ । यसबाट सबैले पाठ सिक्नु आवश्यक छ । न्यायालय अडिग हुँदा न्याय हुँदो रहेछ भन्ने हिजोको सर्वोच्चको फैसलाले प्रमाणित गरेको छ । राज्य संयन्त्र पूरै लाग्दा पनि न्यायालयले कानुन अनुसार फैसला गर्‍यो,’ उनले भने ।

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्