Logo

चितवन–२ को उपनिर्वाचनमा रवि लामिछानेलाई नै सहयोग गर्छौं– शेरबहादुर तामाङ



काठमाडौं, १५ माघ । नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले एमालेको प्रस्तावबाट राष्ट्रपतिको उम्मेदवारको प्रस्तावक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बस्ने ठोकुवा गरेका छन् । ‘राष्ट्रपतिमा एमालेको उम्मेदवार खडा हुन्छ । प्रचण्डजी आफैं प्रस्तावक बस्नुहुन्छ । हामी पूर्व सहमति कार्यान्वयनमा इमानदार छौं । अहिले आएर त्यसमा बखेडा सिर्जना गर्न मिल्दैन । प्रधानमन्त्रीय पद्धतिमा एमालेको कुनै हस्तक्षेप छैन । एमाले केही मन्त्रालय मात्र चलाउने हो । हामी प्रचण्डलाई सफल बनाउन लाग्छौं । उहाँलाई भनेको मुलुकलाई सफल बनाउने हो’, नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै तामाङले भने ।

कांग्रेसले कुनै पद विशेषमा राष्ट्रिय सहमतिको अडान राख्न नमिल्ने उनको तर्क छ । तामाङले थपे, ‘कांग्रेसमा सत्ताबाहिर बस्नै नसक्ने मनोविज्ञान छ । अहिले त्यही छटपटाहट देखिएको हो । उसले राज्यका प्रमुख पद प्रधानमन्त्री र राष्ट्रपति नै चाहिने भनेकाले गठबन्धन टुटेको हो । नेपाली कांग्रेसको नेतालाई मान्दा राष्ट्रिय सहमति हुने, अरुलाई मान्दा नहुने भन्ने पनि कुरा हुन्छ ? पद विशेषमा सहमतिको रटान नगरौं । अर्थतन्त्र, रोजगारी सिर्जनामा सहमति गरौं न । राष्ट्रपति नै चाहिने हो भने नेपाली कांग्रेसले सत्तापक्ष हुँ भनेर प्रस्ताव ल्याउनुपर्यो नि ।’

एमाले प्रचण्डलाई पाँच वर्ष सहयोग गर्न तयार हो त भन्ने धमलाको प्रश्नमा तामाङले भने– ‘आधाआधा कार्यकाल प्रधानमन्त्री हुने एकखाले जेन्टलम्यान एग्रिमेन्ट हो । तर राजनीति तमसुक गरेर बस्ने कुरा होइन रहेछ । परिस्थिति बदलिइरहन्छ । कांग्रेसले माओवादीलाई ल्याप्चे लगाउने पार्टी ठान्नुभयो र गठबन्धन टुट्यो । मध्यावधिमा नजाओस् भनेर हामीले प्रचण्डलाई स्वीकारेको हो । राजनीतिमा इमानदारी चाहिन्छ ।’ चितवन २ को उपनिर्वाचनमा एमालेले रवि लामिछानेलाई नै सहयोग गर्ने पनि उनले बताए । तामाङले भने, ‘रविजीको असावधानीले गर्दा यस्तो भयो । अदालतको व्याख्या अलि अनुदार हो । उहाँले सहज ढंगले पद छाडिसक्नुभएको छ । अब निर्वाचन लड्नुहुन्छ, जित्नुहुन्छ । हामी रविजीलाई नै समर्थन गर्छौं । गठबन्धन अगाडि बढ्छ । यसमा तलमाथि हुँदैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot