Logo

सबैलाई उछिन्छु भनेर हडबडाउँदा रविको राजनीतिक यात्रा दुर्घटनामा पर्‍यो– सुन्दरमणि दीक्षित



काठमाडौं, १५ माघ । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले सबैलाई उछिन्छु भनेर हडबडाउँदा रवि लामिछानेको राजनीतिक यात्रा दुर्घटनामा परेको टिप्पणी गरेका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रकृयामा नजानु रबिबाट गल्ती भएको बताएका हुन् ।

‘संसद्मा कुनै पार्टीको २० सिट छ भन्दैमा कानुनले छुट दिँदैन । संवैधानिक इजलासले रविको नागरिकता प्रकरणमा गरेको फैसला उचित छ । रविले गल्ती गरेकै हो । अब उनले पुनः नागरिकता लिएर राजनीतिमा लाग्नुपर्छ । राजनीतिमा हडबडाएर सबैलाई उछिन्छु भनेर जाँदा उनी समस्यामा परे,’ उनले भने । रबिले आफ्ना तीन सुझाव नमानेको कारण पनि अहिलेको अवस्था आएको उनको दाबी छ । ‘रवि लामिछानेलाई मैले भनेको थिएँ, मन्त्रीमण्डलमा नजानू, विपक्षमा बस्नू, नागरिकता र पासपोर्टको विवाद तत्काल टुंगो लगाउनू । तर उनले तीनवटै कुरा मानेनन् । नागरिकता र पासपोर्ट गृहमन्त्रालयले छानबिन गर्छ । उनलाई त्यही मन्त्रालय चाहिने ? बिना अनुभव एकैचोटि उपप्रधान र गृहमन्त्री हुने ?’ उनले भने ।

एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रबिलाई नारायणकाजीको दाँजोमा पुर्याएर फसाएको उनले आरोप लगाए । ‘हिजो प्रचण्ड र ओलीले रविलाई पानीफोका र समाज भँडुवा भनेका थिए । फेरि उनैलाई उपप्रधान र गृहमन्त्री दिनु प्रचण्ड र ओलीको महामूर्खता हो । यो कस्तो नचाहिने कुरा हो ?’ उनले भने ।

साथै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको राजनीति पहिला एमाले अध्यक्ष ओली हटाउनमा केन्द्रीत भएको र अहिले उनी एमाले अध्यक्ष ओलीबाट बचाउनमा सीमित रहेको बताएका छन् । ‘देउवाको राजनीति पहिले एनिहाउ ओली हटाउ थियो, अहिले एनिहाउ ओलीबाट बचाउ भन्ने छ । अब ओलीलाई दोष दिने काम छैन । एमालेको हातमा राष्ट्रपति जानुको विकल्प छैन । प्रचण्ड धोकवाज हो । देउवा नालायक हो । कांग्रेसले हामफाल्दै दिनै नपर्ने विश्वासको मत दिएपछि प्रचण्डले केही गर्न सक्दैनन् । दिमागले एकैपटक प्रगति र षडयन्त्र गर्न सक्दैन,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot