Logo

राष्ट्र र जनताको सेवामा समर्पित रहन सहिदहरु प्रेरणाका स्रोत हुन- प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले सहिदहरुले जिवित मान्छेहरुलाई प्रेरणा दिइरहेको बताएका छन् । आज (सोमबार) सहिद दिवसको अवसरमा लेनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले सहिदहरुले राष्ट्र र जनताको सेवामा समर्पित हुन प्रेरणाको स्रोतका रुपमा काम गरेको बताएका हुन् । ‘देश, जनता र समृद्धिको निम्ति आफ्नो प्राण उत्सर्ग गर्ने सहिदहरु अमर हुन्छन् । अजर हुन्छन् । उनीहरुले जिवित मान्छेहरुलाई प्रेरणा दिइराखेका हुन्छन् । अगाडि बढ्नका लागि, प्रगतिका लागि र राष्ट्र र जनताको सेवामा समर्पित हुनका लागि प्रेरणाको स्रोतका रुपमा सहिदहरुले भूमिका खेलिरहेका हुन्छन्,’ उनले भने ।

साथै, सहिद दिवस केवल औपचारिक कार्यक्रम मात्रै नभएर सहिदको सपना, जनताको प्रगतिका लागि काम गर्नका लागि संकल्प गर्ने दिन भएको उनको भनाइ छ । ‘यो स्मरणको अर्थ फगत औपचारिक समारोह मात्र होइन । महान सहिदहरुको सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगति सबैका निम्ति समर्पित भएर काम गर्ने संकल्प गर्ने दिन पनि हो । म यहि संकल्पको निम्ति सबैसँग अपील गर्दै महान सहिदहरुप्रति शव्दद्धारा श्रदाञ्जली व्यक्त गर्दछु,’ प्रचण्डले भने ।

अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्म व्यवस्था सहिदहरुको बलिदानी र त्यागबाट मात्रै सम्भव भएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शालिकमा माल्यार्पण गरेका छन् ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot