Logo

गृहमा फर्कने रबिको गृहकार्य सफल होला त ?



काठमाडौं, १६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेको सांसद पद नागरिकता विवादका कारण खारेज भएको छ । गत शुक्रबार सर्वोच्चको संवैधानिक इजालसले रबि लामिछानेले विदेशी नागरिकता परित्याग गरेको निस्सा सरकारी अधिकारी समक्ष नबुझाएको भन्दै उनको नागरिकता अवैध घोषणा गरेको हो । सर्वोच्चले नागरिकता विवादमा रबिको सांसद पद खारेज गरेपछि उनले आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालय पुगेर पुनः नयाँ नागरिकता लिए । उनले निष्क्रिय रहेको नागरिकता प्रयोग गरी लिएको राहदानीसमेत राहदानी विभागमा पुगेर फिर्ता गरेका छन् ।

नागरिकता लिएसँगै लामिछाने गैरसांसदको रुपमा फेरि गृहमन्त्री बन्ने गृहकार्यमा छन् । यसबीचमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायतका सत्ता गठबन्धनका शीर्ष नेतसँग भेटिसकेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिसमेत बनिसकेका छन् । उनको पार्टी रास्वपाले गृहमन्त्रालय आफूहरुको भएको दाबी गर्दै आएको छ । गृहमन्त्रालय आफूले नपाए सरकार छाड्ने चेतावनीसमेत रास्वपाले दिइसकेको छ ।

एमाले अध्यक्ष ओलीबाट सहयोगको आश्वासन पाएपनि प्रधानमन्त्री प्रचण्ड भने रबिलाई गैरसांसदको रुपमा फेरि गृहमन्त्री बनाउन सकारात्मक छैनन् । नेपाली कांग्रेसले गैरसांसदलाई गृहमन्त्री बनाएको खण्डमा संसद अवरुद्ध गर्ने चेतावनी दिइसकेको छ । एमालेलाई राष्ट्रपतिको निर्वाचनमा सघाएर गृहमन्त्री आफ्नो पार्टीको भागमा राख्ने तयारीमा छन् प्रधानमन्त्री प्रचण्ड । गृहमन्त्रीको बारेमा आज माओवादी केन्द्रको पदाधिकारी बैठकमासमेत छलफल चलेको थियो । प्रचण्ड जसरी भएपनि गृह आफ्नो पार्टीमा राख्ने गृहकार्यमा छन् । एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड आफ्नो पार्टीको भागमा शक्तिशाली मन्त्रालय नपाएपछि कमजोर देखिएका छन् । प्रचण्डले गृहमन्त्रीमा माओवादी केन्द्रबाट वर्षमान पुनलाई अघि सारेका थिए । तर, पुन लामो समयदेखि अस्वस्थ रहेका कारण शक्ति बस्नेतलाई गृहमन्त्री बनाउने प्रचण्डको तयारी छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot