काठमाडौं, १९ माघ । जनता समाजवादी पार्टी(जसपा) नेपालले निर्वाचनमा अन्तरघात गर्नेहरुमाथि स्पष्टीकरण सोध्ने कार्यलाई तीव्रता दिएको छ।
पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य शिवलाल थापा संयोजकत्वको छानवीन समितिले जिल्ला जिल्लामा पुगेर निर्वाचनको समयमा पार्टी हित विपरीत कार्य गरेको आरोप लागेका नेता, कार्यकर्ताहरुको विवरण संकलन गर्ने र बयान लिने कार्य गरिरहेको जसपाले जनाएको छ।
समितिको टोलीले मोरङ, सप्तरी, सिराहा, महोत्तरी र धनुषामा पुगी आरोपितहरुबारे सत्यतथ्य बुझ्ने कार्य गरिरहेको छ।
पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यदेखि स्थानीय तहका नेताहरुमाथि निर्वाचनमा अन्तरघातको आरोप लागेको छ। पार्टीको राजनीतिक समितिको बैठकले छानवीन समितिलाई आफ्नो कार्य सम्पन्न गर्न माघ मसान्तसम्मको समयसीमा दिएको छ।