बख्तियार अली : सर्लाही, १८ माघ । तिम्ल्याहा बच्चालाई जन्मदिएका खुटौनाका एक दम्पतीलाई स्वरोजगारीको लागि मलंगवा नगरपालिकाले भैसी उपहार दिएको छ।मलंगवा नगरपालिका-६ खुटौनाका दम्पती जितेन्द्रकुमार यादव र गितादेवी यादवलाई बिहीबार उनकै घरमा पुगेर भैसी उपहार दिइएको हो।
मधेस प्रदेशका सांसद कौशल किशोर राय र नगर प्रमुख नागेन्द्र प्रसाद यादवले ९२ हजार मूल्य पर्ने एकथान भैसी हस्तान्तरण गरेका हुन्। गितादेवीले गत वर्ष भदौ १३ गते एकैदिन केही मिनेटको अन्तरमा तीनवटा शिशुहरुलाई जन्म दिएकी थिइन्। हाल उनका तीनवटै बच्चाहरुको स्वास्थ्य रहेको उनका श्रीमान जितेन्द्रले बताए।