Logo

जनताको सेवक बनेर काम गर्ने अभियानमा छु– नगरप्रमुख भट्टराई



काठमाडौं, २० माघ । खोटाङको दिक्तेल नगरपालिकाका मेयर तीर्थ भट्टराईले आफूहरु जनताको सेवक बनेर काम गर्ने अभियानमा रहेको बताएका छन् । हिजो (बिहिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नगर प्रमुखहरुलाई शासक बन्ने गरेको भन्ने आरोप लागेपनि आफूहरु जनताको सेवक बन्ने अभियानमा रहेको बताएका हुन् । ‘हामीले नियमित ढङ्गबाट विकास निर्माणका कामहरु गरिरहेका छौं। विशेषगरी अहिले स्थानीय तहका नगर प्रमुखहरुमाथि सेवक बन्न सकेनन्, नागरिकको शासक बने भन्ने आरोप छ । तर, हामीले सेवक भएर काम गर्ने अभियान चलाएका छौं,’ उनले भने ।

साथै, नरगरमा भएको स्रोत र साधनको अधिकतम् सदुप्रयोग गरिएको, स्रोत र साधनले भ्याएसम्म जनताको घरघरमै पुगेर सेवा सुविधाहरु प्रदान गरिएको उनको दाबी छ । स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थ र स्रोत साधनको अधिकतम् प्रयोग गर्न सकेमा दिक्तेललाई समृद्ध नगर बनाउन सकिने उनको भनाइ छ । ‘विकासको मापदण्ड भनेको स्थानीय स्रोत र साधन हुन् । म नगरपालिकाको प्रमुख भएपछि मैले घुम्ने कुर्चीलाई हटाएर स्थानीयरुपमा बनेको बाँसको कुर्चीको प्रयोग गरे । हामीले त्यहाँका कच्चा पदार्थ, जडिबुटीहरुको उपयोग गर्न सक्यौँ भने समृद्ध नगरपालिका बनाउन सक्छौं । बाहिरबाट खरिद गरेर ल्याउने कुरा बन्द गर्नुपर्छ भनेर हामीले अभियान चलाएका छौं,’ उनले भने ।

भौगोलिक रुपमा दिक्तेल नगरपालिका दुर्गम भएपनि दिक्तेलबासी सांस्कृतिक रुपमा धनी रहेको उनको दाबी छ । निर्वाचन अगाडिको मुख्य नारा सुशासन रहेको बताउँदै त्यसको पक्षमा निरन्तर लागिरहेको उनले बताए । ‘हामीले निर्वाचन अगाडी मुख्य नारा नै सुशासन कायम गछौं भनेका थियौँ । सुशासनको पक्षमा हामी लागेका छौं। नगरपालिका जवाफदेहिता हुनुपर्छ भनेर हामी लागेका छौं । हाम्रो मुख्य मुद्धा नै त्यहीँ छ । भ्रष्टचार छदँैछैन त म भन्दिन । तर, भ्रष्टचार एकदमै कम भएको छ,’ उनले भने ।

साथै, आफू निर्वाचित भएर आएसँगै नगरको खर्च कटौति गरेर मितव्ययिता अपनाइएको उनको दाबी छ । ‘हामीले खर्च कटौती गरिरहेका छौं । यो भन्दा अगाडिको आर्थिक वर्षमा ७३ लाखमा रुपैँयामा बजारको फोहोर व्यवस्थापनको काम भएको थियो । अहिले हामीले निजि क्षेत्रलाई जम्मा २५ लाख रुपैँयामा दियौँ, त्यताबाट हामीले ४५, ५० लाख जोगायौं,’ उनले भने ।

नगरबासीहरुले आफूलाई एकदमै प्रेम गरेको उनको दाबी छ । नगरबासीको आशा र अपेक्षा अनुसाको काम भने अझै गर्न नसकेको उनको भनाइ छ । मेयर भट्टराईले निरन्तररुपमा नगरबासीको समस्या र अपेक्षाहरु पुरा गर्न लागिपरिरहेने प्रतिबद्धता व्यक्त गरे । दिक्तेल नगरपालिकाले जापानको तोचिकी नगरपालिकासँग पनि सम्बन्ध विस्तार गर्ने प्रयत्न गरिरहेको उनको दाबी छ । भर्खरै जापनको भ्रमण सकाएर आएका मेयर भट्टराईले जापनमा रहँदा त्यहाँका मेयर ओखाबा हिदेकोसँग भेटवार्ता भएको बताए । उक्त भेटमा ५० मिनेटभन्दा बढी औपचारिक संवाद भएको र मेयर हिदेकोले नेपालका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताए । साथै, मेयर हिदेकोलाई नेपाल भ्रमणका लागि आफूले निमन्त्रणा गरेको पनि उनले सुनाए ।

‘म भर्खरै जापान भ्रमणबाट फर्किएकोे छु । जापनको तोचिकी नगरपालिकामा हाम्रो नगरपालिकाको धेरै नेपाली साथीहरु हुनुहुन्छ । तोचिकी नगरपालिकासँग हामी भगिनी सम्बन्ध स्थापित गर्नको लागि हामीले प्रयत्न गरिरहेका छौं । हामीले तोचिकी नगरपालिकाका नगरप्रमुख ओखाबा हिदेकोसँग मैले भेटे । उहाँलाई नेपाल भ्रमणका लागि निम्ता गरेर आएको छु । उहाँले अत्यन्तै सम्मान गर्नुभयो । ग्रेटबाट उहाँको कार्यालयसम्म जादाँखेरि हाम्रो राष्ट्रिय झन्डा र त्यहाँको राष्ट्रिय झन्डा हल्लाएर पूरै कर्मचारीले राष्ट्रिय सम्मानजस्तै गरी स्वागत गर्नुभयो । उहाँसँग मैले ५० मिनेट औपचारिक छलफल गरे । उहाँहरु पनि हाम्रो देशलाई कसरी सहयोग गर्ने भनेर बस्नु भएको छ,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्