सिन्धुपाल्चोक, २० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन्।
शुक्रबार दिउँसो सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
प्रधानमन्त्रीले भने, ‘जुगल गाउँपालिकाका आदरणीय जनसमुदायका लागि यो कार्यक्रम खुसी र गौरवको कुरा हो। यो विद्यालय निर्माणका निम्ति मेरो पनि केही न केही भूमिका छ। म नेपाल सरकार एवं मेरो तर्फबाट चीन सरकार र चिनियाँ जनतालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।’
प्रधानमन्त्री प्रचण्डले भने, ‘विनासकारी भूकम्पपछिको पुनर्निर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको छ। भौतिक पूर्वाधार र शिक्षा स्वास्थ्यमा पनि महत्वपूर्ण भूमिका खेलेको छ। नेपाली जनताको समृद्धि र सुशासनको आकांक्षामा चीन सरकारको निरन्तर सहयोग रहने अपेक्षा गरेको छु।’
‘सिन्धुपाल्चोकका जनताका पीडामा सहभागी हुने अवसर मिल्दै आएको छ। दु:ख र सुखीमा म तपाईंहरूको साथसाथै छु’ प्रधानमन्त्रीले भने, ‘जुरेको पहिरो, भूकम्पको पुनर्निर्माण, मेलम्चीको विनास लगायतका सबै पीडामा म तपाईंहरूसँग सँगै छु। म तपाईंहरूसँग ऐक्यवद्ध भएर काम गर्न पाउँदा खुसीको महसुस गरेको छ। आगामी दिनमा पनि सिन्धुपाल्चोकको विकासका निम्ति म तपाईंहरूकै साथमा हुनेछ।’
कार्यक्रममा प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ्गलगायतले सम्वोधन गरेका थिए।