Logo

रबि लामिछाने पूर्व सञ्चारकर्मी भएका कारण मिडियाले बचाउ गरे– प्रकाश रसाइली (भिडियोसहित)



काठमाडौं, २३ माघ । नेपाली कांग्रेसका नेता प्रकाश रसाइली ‘स्नेही’ ले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्म व्यवस्था ल्याउन रबि लामिछानेको कुनै भूमिका नभएको टिप्पणी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लोकतन्त्र ल्याउन नेपाली मिडिया र सञ्चारकर्मीहरुको अहम भूमिका भएपनि लामिछानेको कुनै भूमिका नभएको बताएका हुन् । ‘देशमा लोकतन्त्र ल्याउनका लागि नेपालका धेरै मिडियाकर्मीहरु पटक–पटक गिरफ्तार हुनुभयो । रवि लामिछानेजीले यो व्यवस्था ल्याउनका लागि एक थोपा आँशु, पसिना , रगत बगाउनु भएको छैन,’ उनले भने ।

साथै, रबि लामिछाने नागरिकता पुनः प्राप्तिको प्रक्रिया पुरा नगर्दासम्म अमेरिकी नागरिक नै रहेको उनको दाबी छ । नेपालको इतिहासमा पहिलो पटक अमेरिकी नागरिक उपप्रधान एवं गृहमन्त्री बनेको उनको अर्को आरोप छ । ‘पहिलो पटक अमेरिकाको नागरिक यो देशको गृहमन्त्री र उपप्रधानमन्त्री भयो । उहाँले अमेरिका हुँदा यतिखेर नागरिकता त्याग्दै छु भनेर तत्कालीन राजा ज्ञानेन्द्रसँग भन्नुभएको थियो कि ? भनेको कुरा प्रमाण होइन । हिजो उहाँले मसँग नेपाली नागरिकता छ भनेर सांसद जित्नु भएको होइन ? तर, उहाँको नागरिकता त रहेनछ,’ उनले भने ।

रबि लामिछाने पूर्व सञ्चारकर्मी भएकाले उनलाई मिडियाले बचाउ गरेको उनको अर्को आरोप छ । रबिको ठाउँमा अर्को कोही नेता भए यतिबेला प्रहरी हिरासतमा हुने बताउँदै उनले सञ्चार माध्यमले रबिको खेदो नगरेको बताए । ‘रवि लामिछाने पुर्व सञ्चारकर्मी भएको कारणले सञ्चारकर्मीले उहाँलाई बचाउ गर्नुभएको छ । आज रबि लामिछानेको ठाउँमा यदि म अथवा अरु कोही राजनीतिक पार्टीको नेता हुन्थ्यो भने यतिबेला प्रहरी हिरासतमा हुन्थ्यो । सञ्चारकर्मीले उहाँको खेदो खन्नु भएको छैन,’ उनले भने । हिजो मिडियामा रहँदा सांसस र नेताहरुप्रति सत्तोसराप गर्ने रबिलाई मन्त्री बन्न नेपाली नागरिकता चाहिन्छ भन्नेसमेत थाहा नभएको उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot