Logo

राष्ट्रिय सहमति मुलुकको आवश्यकता हो, खुल्ला संवाद गरौं– शक्ति बस्नेत (भिडियोसहित)



काठमाडौं, २४ माघ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेतले राष्ट्रिय सहमति मुलूकको आवश्यकता भएको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रिय महत्वको सवाल र शान्ति प्रक्रियकाको बाँकी कामहरुलाई टुंगोमा पुर्‍याउन राष्ट्रिय सहमतिको आवश्यकता परेको बताएका हुन् । ‘राष्ट्रिय सहमति आज मुलुकको आवश्यकता हो । हाम्रो राजनीतिक परिस्थिति, देशको आर्थिक अवस्था र केही राष्ट्रिय महत्वका सवालहरु छन्, शान्ति प्रक्रियाका बाँकी कामहरु छन । यो सबै दृष्टिले हेर्दा खेरी राष्ट्रिय सहमति आजको राष्ट्रिय आवश्यकताको रुपमा प्रकट भइराखेको छ । जहासम्म सम्भावनाको कुरा छ, केही आधारहरु जरुर बनेका छन्,’ उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा प्राप्त गरेको विश्वासको मतले राष्ट्रिय सहमति आवश्यकता मात्र नभएर सम्भावनको रुपमा पनि देखापरेको उनको भनाइ छ । राष्ट्रिय सहमतिको लागि एमालेलगायतका दलहरुसँग खुल्ला रुपमा छलफलको आवश्यकता भएको उनको ठहर छ । छलफलपछि मात्रै सहमति नभएमा के गर्ने भन्ने विकल्प खोज्न सकिने उनको धारणा छ । राष्ट्रिय सहमतिलाई आ–आफ्नो फाइदा भन्दा पनि राष्ट्रको हितका रुपमा बुझ्नुपर्ने उनले बताए । ‘राष्ट्रिय सहमतिमा जाँदै गर्दा हरेक दलका आ–आफ्नै बुझाइ हुनसक्छन् । फाइदा बेफाइदाका सबैका आ–आफ्नै हिसाब किताब हुनसक्छन् । राष्ट्रिय हित र राष्ट्रिय आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर छलफल गर्दैजाँदा सहमतिको बिन्दु पहिल्याउन सक्ने तहसम्म सहमतिकै लागि कोशिस गर्नु राम्रो । मेरो भनाइ अझै समहतिको लागि बल गरौं,’ उनले भने ।

प्रचण्ड प्रधानमन्त्री बन्दै गर्दाको परिस्थिति र पुष २६ पछिको परिस्थितिलाई समायोजन गरेर जानुपर्ने उनको जोड छ । पुष १० मा जे सहमति भयो त्यही नै अन्त्य हो भनेर जाँदा राष्ट्रिय सहमति हुन नसक्ने उनको धारणा छ । लोकतन्त्रमा सहमति हुँदैन भन्ने कुरा गलत भएको उनको बुझाइ छ । ‘लोकतन्त्रमा सहमति हुँदैन भन्ने कुरा गलत हो । हामी संसद्मै कयौं विषयमा सर्वसम्मत निर्णय गर्छौं । हुन्न भन्ने आवाज सुनिएन त्यसकारण यो सर्वसम्मत पारित भयो भन्छौं त। के त्यसोभए त्यो अलोकतान्त्रिक कुरा भयो त ? कयौं विषयमा संसद्मा पक्ष र प्रतिपक्ष पनि हुन्छ । पक्ष र प्रतिपक्ष हुँदाहुँदै पनि निश्चित विषय सन्दर्भमा त्यहाँ सर्वसम्मत पनि हुन्छ,’ उनले भने ।


 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot