Logo

हामी राष्ट्रपतिमा एमालेले कांग्रेसको उम्मेदवारलाई समर्थन गरोस् भन्ने चाहन्छौं– जीवन परियार



काठमाडौँ, २४ माघ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारालाई कुनै हालतमा समर्थन गर्न नसकिने बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रपति संवैधानिक पद भएको र यसलाई एमाले विशेषको व्यक्तिलाई समर्थन गर्ने नभएर राष्ट्रिय सहमतिबाट टुंगोमा पुर्‍याउनु पर्ने बताएका हुन् । ‘यो मुलुकमा यतिबेला राष्ट्रिय सहमतिको खाँचो छ । राष्ट्रपति संवैधानिक पद हो । यसलाई संवैधानिक राष्ट्रपतिकै रुपमा राख्नुपर्छ भन्ने मान्यता हामी राख्छौं । कांग्रेसले नेकपा (एमाले) ले प्रस्ताव गरेको राष्ट्रपतिको उमेद्वारलाई कुनै हालतमा पनि सर्मथन गर्न सक्दैन । हामी राष्ट्रिय सहमतिको प्रयत्नमा छौं,’ उनले भने ।

आगामी राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति जुट्न नसके बहुमत ल्याउने गरी उम्मेदवार उठाउने तयारी कांग्रेसको रहेको उनले खुलासा गरे । ‘यदि राष्ट्रिय सहमतिको वातावरण बन्न सकेन भने संसदमा रहेका र प्रदेश तहमा रहेका विभिन्न राजनीतिक पार्टीका सांसदहरुसँग गर्छौं । कांग्रेसले अगाडि सारेको उम्मेदवारले बहुमत ल्याउने गरी मत मागेर विजयी गराउने प्रयत्नमा हामी छौं । प्रधानमन्त्री जो माओवादी केन्द्रका अध्यक्षसमेत हुनुहुन्छ, उहाँले पार्टी बैठकमा एउटा खाले धारणा सार्वजनिक गरिसक्नु भएको छ । अन्य पार्टीका शीर्ष नेताहरुसँग पनि उहाँ राष्ट्रिय सहमतिका लागि निरन्तर छलफलमा हुनुहुन्छ,’ उनले भने ।

हिजोको संसद् बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले विशेष समय मागेर प्रतिपक्षी दललाई आलोचना गरेको भन्दै उनले आपत्ति जनाए । एमालेले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकै भूमिकामा आगामी राष्ट्रपति चाहेको उनको अर्को आरोप छ । राष्ट्रपतिमा स्वच्छ छवि भएको र संविधान र कानुन बमोजिम अगाडि बढ्न सक्ने व्यक्ति उपयुक्त हुन्छ भन्ने कांग्रेसको धारणा रहेको उनले बताए । ‘यो मुलुकको राष्ट्रअध्यक्षजस्तो गरिमामय पदमा स्वच्छ छवि भएको, राष्ट्रपतिको भूमिकालाई संविधान र कानुन बमोजिम अगाडि बढाउन सक्ने योग्य मान्छे उपयुक्त हुन्छ भन्ने कांग्रेसको मान्यता हो । एमालेले उम्मेदवार नउठाएर कांग्रेसले उठाएको उम्मेद्वारलाई समर्थन गरोस् भन्ने हामी चाहन्छौं,’ उनले भने ।

कांग्रेस जिम्मेवार लोकतन्त्रवादी दल भएको दाबी गर्दै उनले आफूहरुले अहिलेको सत्ता गठबन्धन भत्कियोस् वा टुटोस् भन्ने नचाहेको बताए । तर, एमाले अध्यक्ष ओलीले खोजेजस्तै गरी अबको राजनीति अगाडि बढ्न नसक्ने उनको भनाइ छ ।

 



प्रतिक्रिया दिनुहोस्