काठमाडौं, २७ माघ । सुदूरपश्चिम प्रदेश सरकारमा माधवकुमार नेपाल नेतृत्वको (एकीकृत समाजवादी) सहभागी भएको छ । हिजोको प्रदेश सभामा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका थिए । संविधानको धारा १६८ (२) अनुसार रावल नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ (३) अनुसार नयाँ सरकार गठन भएको छ । सबै भन्दा धेरै सांसद सदस्य रहेको दलको हैसियतले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह प्रदेश मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
कूल ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कुनै दलको पनि बहुमत छैन । निर्णायक भूमिकामा नागरिक उन्मुक्ति पार्टी रहेको छ । कांग्रेस १९, माओवादी ११, एमाले १०, नागरिक उन्मुक्ति ७, समाजवादी ४, राप्रपा १ र स्वतन्त्र १ सांसद रहेका छन् । बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक छ । नवनियुक्त मुख्यमन्त्री शाहले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शपथ लिएसँगै विस्तार गरको मन्त्रिमण्डलमा एकीकृत समाजवादीबाट नरेश शाही मन्त्री बनेका छन् । उनलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएर संघीय सरकारमा पनि सहभागी नभएको एकीकृत समाजवादीले सुदूरपश्चिमबाट आफ्नो सत्तारोहण सुरु गरेको छ । मुख्यमन्त्री शाहीलाई एकीकृत समाजवादीले समर्थन गरेपनि उनले विश्वासको मत पाउन नाउपाको समर्थन आवश्यक छ । नाउपाले शाह नेतृत्वको सरकारमा पनि सहभागी नहुने बताउँदै आएको छ ।