Logo

राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय– गगन थापा



काठमाडौं, २८ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीले चिकित्सकमाथि लाठी चार्ज गर्नु दुःखद् भएको बताएका छन् । आज (शनिबार) सामाजिक सञ्जालमा लेख्दै महामन्त्री थापाले दोषीलाई कारबाहीको मागसमेत गरेका छन् । यस्ता घटनाका कारण नागरिकले राष्ट्रपतिजस्तो गरिमामय संस्थाप्रतिको धारणा नराम्रो बनाएको उनको बुझाइ छ । विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँडडुल गर्न नदिने अभ्यास परिवर्तन गर्नुपर्ने उनले औंल्याएका छन् ।

उनले लेखेका छन्,– ‘हिजो राष्ट्रपतिको सवारीमा क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद छ। दोषीलाई कारबाहीका मागमा सरकारबाट तत्काल सुनुवाइ हुनपर्छ । विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँडडुल गर्न नदिने अभ्यास ुपरम्पराु को नाममा चलिरहेको छ।यो शैलीप्रति हरेक पटक हामी आक्रोश पोख्छौ अनि बिर्सिन्छौँ। यो पटक पनि त्यस्तै हुन्छ। तर यस्तो दोहोरिन नदिने हो भने केही काम गर्नुपर्ने छ।

१. विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायत यस्ता विधि र प्रोटोकल बदलौँ। राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा पुर्‍याउन नपाउने र यो कार्यविधि कुनै सुरक्षा निकायले उल्लङ्घन गर्न नपाउने व्यवस्था गरौँ र कार्यान्वयन गरौँ।

२. निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरि अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ।र म आफ्नो ठाउँबाट यसको लागि सक्दो पहलकदमी लिनेछु र पालन गर्नेरगराउने कुरामा प्रतिबद्ध रहने छु।

राष्ट्रपति एउटा व्यक्ति होइन संस्था हो।यो संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको छ ।यसको एउटा कारण तामझामवाला शैली हो।संस्थालाई सम्मानित र मर्यादित बनाउन नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौँ।’



प्रतिक्रिया दिनुहोस्