Logo

बालविवाह कसुरमा एक अभियुक्तलाई कैद



काठमाडौं, २८ माघ । पन्ध्र वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको कसुरमा एक अभियुक्तलाई एक वर्ष तीन महिना कैद सजाय गरिएको छ । कञ्चनरुप नगरपालिका–११ गोरपारका ३६ वर्षीय चन्द्रनारायण धामीलाई कैद सजाय भएको अदालतका इजलाश अधिकृत कुमार सुवेदीले बताए । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई बहुविवाहको कसुरमा एक वर्ष र बालविवाहको कसुरमा तीन महिना कैद सजाय गरेको हो ।

यसैगरी आरोपितलाई बहुविवाहमा १० हजार र बालविवाहमा तीन हजार जरिवाना समेत भएको छ । यसका साथै आरोपितबाट फौजदारी कसूर पीडित राहत कोषमा चार सय जमा गर्नुपर्ने फैसला भएको छ । जेठी श्रीमती २१ वर्षीया मेनुकाकुमारी चौधरीले आरोपित श्रीमानले १५ वर्षीया बालिकालाई गत मङ्सिर १ गते विवाह गरी घरमा भित्र्याएको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएकी थिइन् । प्रहरीले पुस २५ गते आरोपितलाई पक्राउ गरी उजुरी दर्ता गरेको थियो ।

जिल्ला अदालतले यही माघ १७ गते बालिकालाई सफाइ र धामीलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको थियो । बहुविवाहसँग जोडिएको यो बालविवाहको घटनाबाहेक आर्थिक वर्ष २०७९÷८० मा जिल्ला अदालतमा अन्य दुई बालविवाहका उजुरी दर्ता भएका छन् ।



प्रतिक्रिया दिनुहोस्