एजेन्सी । अफगान प्रहरीले उत्तरी बाघलान प्रान्तबाट ठूलो परिमाणमा हातहतियार बरामद गरेको छ। यहाँस्थित एउटा घरमा छापा मारेर सुरक्षाकर्मीले विभिन्न किसिमका हतियार र गोलाबारुद बरामद गरेका प्रान्तीय प्रहरी प्रवक्ता मौलावी शिर अहमद बुर्हानीले बताएका छन्।
गोप्य सूचनाका आधारमा छापा मारेर सुरक्षाकर्मीले एक थान रकेट प्रोपेल्ड ग्रेनेड, पाँच थान एके–४७, १३ थान पेस्तोल र भारी मात्रामा ग्रिनेड नियन्त्रणमा लिएको छ। हालैका दिनमा सुरक्षा बलले बगलान, छिमेकी कुन्दुज र समङ्गन प्रान्तबाट हजारौँ हातियार र गोलाबारुद बरामद गरेको छ।
वर्षौँको युद्धबाट तहसनहस भएको अफगान सरकारले देशमा शान्ति, सुरक्षा एवम् स्थायित्व कायम गर्न सुरक्षा निकायबाहेक अन्यलाई हतियार राख्न नदिने नीति लिएको छ भने त्यस्ता हातहतियार सम्बन्धित व्यक्तिबाट जफत गर्ने वाचा गरेको छ। रासस/सिन्ह्वा
file photo