Logo

संविधानको रक्षाका लागि राष्ट्रपतिमा कांग्रेसको विकल्प छैन– कुन्दनराज काफ्ले



काठमाडौं, २९ माघ । नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्लेले संविधानको रक्षाका लागि राष्ट्रपतिमा कांग्रेसको विकल्पमा अरु खोज्न नसकिने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संविधान र गणतन्त्रको रक्षाका लागि कांग्रेसको विकल्पमा अरु कोही हुन नसक्ने कुरा सबै राजनीतिक दलले बुझ्नुपर्ने बताएका हुन् ।

‘राष्ट्रपति कुन पार्टीको मान्छे बन्छ भन्दा पनि देश राम्रोसँग चल्नुपर्यो । देशमा गणतन्त्र हामीले ल्याएका हौं । हामीले ल्याएको गणतन्त्रमा सबै जनताले मन पाएका छैनन् । यो कुरा सत्य हो । आज अधिकारको रुपमा तीन तहको सरकार पाएका छौं । अब त्यसबाट पछाडि हट्ने होइन । अब समृद्धि, बेतिथिको अन्त्य, भ्रष्टाचार उन्मुलन, देशमा शैक्षिक जनशक्ति विकास तर्फ हामी लाग्नुपर्छ,’ उनले भने ।

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई काम गर्न सजिलो होस् भन्ने मनशायले विश्वासको मत दिएको उनको दाबी छ । नेपाली कांग्रेस संसदको सबैभन्दा ठूलो दल भएको कारण पनि राष्ट्रपतिको दाबी स्वभाविक भएको उनले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान र जनताका उपलब्धी च्यात्नका लागि आक्रमण गरिरहेको उनको आरोप छ । जनताको उपलब्धीलाई बचाएर अगाडि बढाउने कांग्रेसको चाहना भएको उनको दाबी छ । ‘हामीले जनताको उपलब्धी, जनताको अधिकारको रक्षा गर्नुछ । जनताको अधिकारलाई खोस्ने काम कसैबाट भयो भने त्यस्ता व्यक्ति हटाउने हो । जनताको अधिकारलाई बचाउने र अहिलेको व्यवस्थालाई राम्रोसँग अगाडि बढाउने कांग्रेसको चाहना हो,’ उनले भने ।

कांग्रेसले आगामी राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्ने र जीत हात पार्ने उनको दाबी छ । रास्वापाका सभापति रबि लामिछानेले गैरसांसदको रुपमा गृहमन्त्री बन्न नहुने उनले बताए । रास्वपाका सभापति लामिछानेका बारेमा एमाले अध्यक्ष ओलीले के भन्छन् भन्दा पनि संविधान र कानुनले भनेको कुरा मान्नुपर्ने उनको धारणा छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot