Logo

कांग्रेस उपसभापति गुरुङको एमाले लक्षित टिप्पणी– ‘राष्ट्रपतिप्रतिको आशक्तिले आशंका जन्मियो’ (भिडियोसहित)



काठमाडौं, १ फागुन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति हुन नसके अधिकतम् सहमति खोजिने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रको अभिभावक र संविधानको रक्षकजस्तो आलङ्कारिक संस्थामा राजनीतिक भागबण्डा भन्दा पनि राष्ट्रिय सहमतिको प्रयास गर्नुपर्ने बताएका हुन् । ‘राष्ट्रपति राष्ट्रको अभिभावक हो । मुलुकको अभिभावक, संविधानको संरक्षक, राष्ट्रको अध्यक्ष चयन गर्ने सन्दर्भमा राष्ट्रिय सहमति भयो भने अत्यन्त राम्रो । हामी राष्ट्रिय सहमतिको प्रयासमा छौं । राष्ट्रिय सहमति भएन भने अधिकतम् सहमति खोज्छौं,’ उनले भने ।

राष्ट्रपति मुलुकको गौरव गर्ने संस्था भएको बताउँदै उनले मुलुकको हित चाहने नेताहरुले आलङ्कारिक राष्ट्रपतिमा यतिधेरै आशक्ति देखाउँदा आशंका जन्मिएको उनको बुझाइ छ । एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै उनले भने–‘त्यतिधेरै आशक्ति किन गर्नुपर्यो ? त्यतिधेरै मरिहत्य किन गर्नुपर्यो । मुलुकको हित चाहने नेताहरुले आलङ्कारिक संस्थाको सन्दर्भमा त्यतिधेरै आशक्ति देखाउनुको पछाडि आशंकाहरु जन्मिन्छन् ।’

साथै, मुलुक अहिले ठूलो आर्थिक संकटतर्फ धकेलिन लागेको उनको भनाइ छ । मुलुकमा देखा पर्न लागेको संकटको मोचनका लागि राष्ट्रिय सहमति उपयुक्त विकल्प भएको उनको दाबी छ । अहिलेको गम्भीर अवस्थामा सत्ता पक्षले सत्ताको उन्माद देखाउने र प्रतिपक्षले टुलुटुलु हेरेर बस्न नहुने उनले बताए । ‘हामीले यतिधेरै आशक्ति देखाएर होइन । मुलुकको समस्या समाधानको लागि प्रतिपक्षले टुलुटुलु हेरेर बस्ने बेला र सत्ता पक्षले सत्ताको उन्माद देखाउने बेला होइन भन्ने मलाई लाग्छ । हामी कति गम्भीर हुनसक्छौं भन्ने कुरा हो । गम्भीर भएर अगाडि बढेमा अहिलेका सबै समस्या समाधानतर्फ जानसक्छन्,’ उनले भने ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot