Logo

पद्मा अर्यालको दाबी-‘एमालेकै उम्मेदवार राष्ट्रपति बन्छ’



काठमाडौं, २ फागुन । नेकपा (एमाले) की सचिव पद्मा अर्यालले नेपालमा राजनीतिक स्थायित्व देख्न नचाहने शक्ति हाबी भइरहेको दाबी गरेकी छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफ्नो स्वार्थ पुरा गर्नका निम्ती ज्यान फ्याँकेर एउटा शक्ति लागिरहेको खुलासा गरेकी हुन् । ‘नेपालको अस्थिरताको निम्ति ज्यान फ्याँकेर लाग्ने शक्ति छ । एउटा मुलुकभित्रै पनि छ, अर्को बाहिरी रुपमा पनि छ । त्यसैले नेपालको राजनीतिमा स्थायित्व देख्न नचाहने शक्ति र अस्थिरता निम्त्याँउदा खुसी हुने पक्षधरहरु छन् । अहिलेको गठनबन्धन तोड्दिने, सरकार ढाल्ने र नेपाललाई आफ्नो स्वार्थसिद्धको निम्ति जहिले पनि परेड खेल्ने मैदान बनाउने एउटा शक्ति तल्लिन छ,’ उनले भनिन् ।

अहिलेको सत्ता गठबन्धन त्यस्ता शक्तिले टुटाउन नसक्ने उनको दाबी छ । वर्तमान सत्ता समीकरण तोड्न धराप थाप्ने काम भइरहेको उनको आरोप छ । सत्ता गठबन्धन टुटाउने कांग्रेसको प्रयास असफल हुने उनले बताए ।
‘कांग्रेस गठबन्धन टुटाउन लागेको छ । कुनै नौलो कुरा होइन । कांग्रेसको काम भनेकै यस्तो हो । हल्लाखल्ला मच्याउने,  अस्थिरताको निम्ति वहाकको भूकिका निर्वाह गर्ने । इथिक्स् हुन्न ? हिजोको जुन गठबन्धन थियो त्यो तोडेर प्रचण्ड आएको हो कि होइन ? हिजोको गठबन्धन जहाँ थियो त्यो तोड म तिमीहरुसँग छैन भनेर आएको मान्छेलाई फेरि पछिपछि लागेर भोट किन हालेको ?’उनले प्रश्न गरिन् ।

प्रचण्डले कांग्रेससँग फेरि सत्ता समीकरण बनाउने भन्ने कुरा केवल हल्लामात्रै भएको उनले बताइन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हार्दिकतापूर्ण सम्बन्ध रहेको पनि उनको दाबी छ ।
‘प्रचण्डले कांग्रेससँगको सत्ता समीकरण बनाउनु हुन्न, हल्लामात्र हो । उहाँले छोडेर आएको गठबन्धन अब किन फर्किनु हुन्छ ? सत्ता साझेदार दलबीचको संयन्त्रको हाउगुजी देखाएर प्रचण्डलाई फर्काउन सकिन्छ कि भन्ने पनि छन् । तर, प्रचण्ड र केपी ओलीकोबीचमा हार्दिकतापूर्ण ढंगले छलफल भइरहेको छ । यो गठबन्धन टुट्छ भन्ने मलाई लाग्दैन,’ उनले भनिन् ।

एमाले अध्यक्ष ओलीले प्रचण्डलाई सफल बनाउन सहयोग गरिरहेको उनको दाबी छ । अहिले बहसमा आएको राष्ट्रिय सहमतिको सवाल स्वागतयोग्य कुरा भएको उनले बताइन् । नेकपा (एमाले) ले अगाडि सारेको व्यक्तिमा राष्ट्रिय सहमति हुन सक्दैन भनेर केवल गलत ढंगले प्रचार गरिएको उनको दाबी छ । एमालेको उम्मेदवारमा राष्ट्रिय सहमति बन्न नसकेमा कांग्रेसले अगाडि सारेको पात्रमा पनि राष्ट्रिय सहमति हुन नसक्ने उनको दाबी छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot