Logo

जनयुद्ध दिवसबारे गिरिराजमणिको प्रतिक्रिया–‘समान्तवादको प्रतिनिधिहरुले सहज ढंगले लिएनन्’



काठमाडौं, २ फागुन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेलले अहिलेको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था जनयुद्धकै उपलब्धी भएको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्, कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उपमहासचिव पोखरेलले संविधान, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशिता लगायतका कुरा जनयुद्धकै उपलब्धी भएको बताएका हुन् । जनयुद्धकै जगमा २०६२/६३ को अन्दोलन भएको र नेपालको संविधान २०७२ बनेको उनको दाबी छ । ‘अहिले हामीसँग २०७२ सालको संविधान छ । यो संविधान हामी सबैले मिलेर बनाएको हो । यसका पाँच वटा उपलब्धीहरु छन्, गणतन्त्र छ, संघीयता छ, धर्म निरपेक्षेता, समवेशी समानुपातिकता, समाजवाद उन्मुखता यो कहाँबाट आयो ? जनयुद्धको जगमा जनआन्दोलन भयो र ऐतिहासिक परिवर्तन भयो । यो समग्र आजको उपलब्धी जनयुद्धबाट आएको हो,’ उनले भने ।

अहिलेको परिवर्तनमा हजारौँ योद्धाहरुको बलिदानी र त्याग रहेको स्मरण गर्दै उनले जनयुद्ध कुनै पार्टी विशेषको मात्रै नभएर सबै उत्पीडित वर्ग र समुदायको भएको उनको भनाइ छ । ‘जनयुद्धमा हजारौंले आफू जीवन उत्सर्ग गर्नुभएको छ । त्याग, बलिदानी, वीरता छ । त्यसको सकारात्मक कुरालाई पक्रनुपर्छ । यो पार्टी विशेषको कुरा भएन । सुरुगर्दा एउटा पार्टी विशेषको थियो होला । तर, यो अगाडि बढ्दै जाँदा सबै उत्पीडित समुदाय र वर्गको साझा आन्दोलन बन्यो, त्यसकारण तपाईँ हामी यहाँ छौं,’ उनले भने ।

माओवादी आन्दोलन जनगणतन्त्र स्थापना गर्ने लक्ष्यका साथ सुरु भएको उनले बताए । जनयुद्ध दिवसमा सार्वजनिक विदा दिनु राम्रो पक्ष भएको उनको दाबी छ । मधेश प्रदेश, बागमती प्रदेश हुँदै संघीय सरकालेसमेत जनयुद्ध दिवसमा विदा दिनुलाई यसको महत्वलाई स्थापित गर्ने प्रकृया सुरु भएको सन्देशको रुपमा लिनुपर्ने उनको भनाइ छ ।

जनयुद्ध दिवसमा सरकारले दिएको विदामा चौतर्फी आलोचना भयो नि ? भन्ने धमलाको प्रश्नमा उनले भने– ‘हिजो समान्तवादको प्रतिनिधिहरुले यो कुरालाई सहज ढंगले कहाँ लिनु हुन्छ र । राजनीति लुकाउन हुँदैन । अहिले गठबन्धनको सरकार छ । क्याबिनेटले निर्णय गरेको छ । हामीले के हेर्नुपर्छ भने जनयुद्धले ल्याएको युगान्तकारी परिवर्तनलाई स्थापित गर्नका लागि हो यो । यो पहिलेदेखि नै सुरु गर्नुपर्थ्यो । ढिला भयो । ढिलै भएपनि सुरु भएको छ । दोस्रो कुरा वहस सुरु भएको छ । वहसलाई सकारात्मक ढंगले लिनुपर्छ ।’

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot