Logo

वामपन्थी आन्दोलन जोगाउन सकिएन–केपी ओली



काठमाडौं, २ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झण्डै दुइतिहाईको नजिक पुगेको वामपन्थी आन्दोलन जोगाउन नसकेको बताएका छन् । आज (मंगलबार) पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आफूहरुलाई चौतर्फी घेराबन्दीमा परेर दुईतिहाई नजिकको वामपन्थी आन्दोलन जोगाउन नदिएको बताएका हुन् ।

वामपन्थी आन्दोलन टुटाउन पार्टीभित्रकै केही मान्छे लागेको उनले बताए । बाहिरी प्रहारले भन्दापनि आन्तरिक प्रहारका कारण पार्टीलाई ध्वस्त बनाउन खोजेको उनले बताए । ‘हामीलाई घेराबन्दीमा पारिएकै हो । हामी घेराबन्दीमा पर्यौं । झण्डै दुईतिहाईको अवस्थामा पुगेको वामपन्थी आन्दोलनलाई जोगाउन दिएनन् । जोगाउन सकिएन । त्यसमाथि प्रहार भयो । भित्रैबाट प्रहार, बाहिरैबाट प्रहार । बाहिरको प्रहारलाई त हामी सजिलैसँग झेल्थ्यो तर भित्रको प्रहारलाई झेल्न सकिएन । भित्रैका प्रहारले हामीलाई ध्वस्त बनायो,’ उनले भने ।

माओवादी केन्द्र र एमाले मिलेर बनेको तत्कालीन नेकपा कायमै रहेको अवस्थामा आफूलाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरिएको उनले स्मरण गरे । यसरी चौतर्फी धेराबन्दीमा पारेर पार्टीलाई ध्वस्त बनाएपनि अहिले पार्टी उठिसकेको उनको दाबी छ । ‘नेकपा (एमाले ) कब्जा नै गरेका हुन् । अध्यक्षलाई त साधरण सदस्यबाटसमेत, भविष्यमा पनि साधरण सदस्य हुन नपाउने गरी । कत्रो चारकिल्ला ठोकेको हेर्नुस् त ? यसरी ध्वस्तै पारेका थिए पार्टीलाई । हामीले फेरि पार्टीलाई उठाएका छौं,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot