Logo

संविधान रक्षाको विषय कस्मेटिक होइन भने प्रचण्डले राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्छन्– प्रकाशशरण महत



काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसद् विघटनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधान रक्षाको पक्षमा सबैभन्दा बढी उभिएको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा संविधान रक्षाको पक्षमा उभिएका प्रचण्डले अहिले आफैं प्रधानमन्त्री रहँदा राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई सहयोग गर्ने बताएका हुन् । एमाले अध्यक्ष ओलीले संसद्को पहिलो बैठकमै संसद् विघटनको कुरा गरेकाले संविधानको रक्षाका पक्षमा दीर्घकालीन सोच राखेर कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उनको दाबी छ ।

‘ओलीजी फेरिपनि यो संविधानको मर्म र भावनाबिपरीतका कुरा गर्न थाल्नुभयो । संसदको पहिलो बैठकमै उहाँले संसद विघटनको कुरा गर्न थाल्नुभयो । त्यसअर्थमा यो खतरा फरिपनि छ भन्ने कुरालाई मध्यनजर राखेर हिजो हामीसँग भएको गठबन्धनमा प्रचण्डजी हुनुहुन्थ्यो । उहाँले नै सबैभन्दा ज्यादा यो संविधानको रक्षाको कुरा उठाउनु भएको हो । अहिले फेरि त्यही कुरा उठिराख्या छ । त्यो कुरामा प्रचण्डजी गम्भीर हुनुहुन्छ कि हुनुहुँदैन । गम्भीर बन्नुस् भनेर हामीले विश्वासको मत दिएको हो,’ उनले भने ।

कांग्रेस अहिलेको सत्ता गठबन्धन ढाल्ने पक्षमा नरहेको उनको स्पष्टोक्ति छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गठबन्धभित्र विश्वासको वातावरण बनाउन नसक्दा बाहिरी रुपमा कांग्रेसलाई अनेक प्रकारका आरोप लगाएको उनको भनाइ छ । ‘त्यो ओलीजीको आफ्नै डर हो । किन त्यो डर हो भने उहाँले दोहोरो कुरा गरेर नयाँ गठबन्धनसँग आफू सत्ताशिन हुनुभयो । सत्तामा पुग्नुभयो, आफ्नो पार्टीलाई पुर्याउनु भयो । होइन भने त स्वभाविक सत्ताको दाबेदार त नेपाली कांग्रेस हो नि । नेपाली कांग्रेससहितको गठबन्धनको सरकार बन्नुपर्थ्यो । उहाँले दोहोरो चाल चालेर यो गठबन्धन निर्माणमा सफल हुनुभयो । तर, यो गठबन्धन विचारको विरोधाभाषबीचमा बनेको छ । राजा चाहिनेदेखि संघीयता नचाहिने, ‘नो नट अगेन’ भन्नेहरु सबै एकैठाउँमा छन् । यो सिद्धान्त विचार र निश्चित लक्ष्यसाथ बनेको गठबन्धन होइन । त्यसकारण विरोधाभाष यही गठबन्धनमा छ,’ उनले भने ।

अहिलेको सत्ता गठबन्धन सिद्धान्तविहीन र तीब्र महत्वकांक्षाको साथ बनेकाले यसलाई टुटाउन नेपाली कांग्रेस लागिरहनु पर्ने आवश्यकता नभएको उनको दाबी छ । अहिलेको संक्रेतको आधारमा यो गठबन्धनमा ढिलोचाँडो समस्या आउने उनले बताए । राष्ट्रिय सहमति नजुटेको खण्डमा प्रचण्ड संविधानको रक्षाको पक्षमा उभिन पर्ने उनले बताए । ‘संविधान रक्षाको विषय कस्मेटिक होइन भने नेपाली कांग्रेस पार्टीको उम्मेदवारले मात्रै अहिलेको परिप्रेक्ष्यमा संविधानको मुल मर्म र भावना, लोकतान्त्रिक संस्कार, विधिको शासनलाई सम्मान गर्छ । त्यसो हुनाले नेपाली कांग्रेसको उम्मेदवार राष्ट्रपति हुनभनेको संविधानको रक्षाको पक्षमा उभिनेहरु एक ठाउँमा उभिनु पर्यो नि !’ उनले भने ।

साथै, राष्ट्रपतिको निर्वाचनमा छिमेकी देशको भूमिका हुन नहुने बताएका छन् । राष्ट्रपति निर्वाचन देशको आन्तरिक विषय भएकाले छिमेकी मुलुक भारत, चीन कसैको पनि भूमिका हुन नहुने बताए । ‘नेपालको कुरा नेपालबाटै तय हुन्छ । नेपाली कांग्रेस पार्टी आफ्नोतर्फबाट उम्मेदवारी दिन्छ । त्यसमा सबै पार्टीको सहयोग र समर्थको हामीले अपेक्षा गरेका छौं । यो देशको कुरा हो । देशभित्रै टुंगो लाग्नुपर्छ । भारत, चीन कसैको पनि भूमिका हुन हुँदैन,’ उनले भने । कांग्रेस लोकतान्त्रिक मूल्य र मान्यता, कानुनी शासन, विधिको शासन लगायतको पक्षमा रहेको उनको दाबी छ । भारतीय विदेश सचिव विनयमोहन क्वात्राको नेपाल भ्रमणमा कांग्रेसको पक्षबाट भएको छलफल पनि विधिको शासन, कानुनी राज्य र लोकतन्त्रलाई बलियो बनाउने रहेको उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot