काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद प्रकाशशरण महतले मजदुर आन्दोलनको नाममा कयौं व्यवसायीको पसल लुटिँदा सरकार रमिते बनेको टिप्पणी गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै महतले सरकरले राजधानीमै सुरक्षा दिन नसकेको भन्दै सुरक्षा संवेदशीलताको प्रश्न उठाएका हुन् ।
‘काठमाडौंको मुटुमै मजदुर या अन्य समूहको नाममा लुट मच्चिएको छ। राजधानीमै सरकारले सुरक्षा दिन सक्दैन भने गाउँका मानिसको हालत के होला ?’ उनले भने ।
घटनाको यथार्थ छानबिनका लागि पनि उनले सरकार समक्ष माग गरेका छन् । यस्ता घटनामा सरकारले परिणाम आउने गरी काम गर्नुपर्ने उनको माग छ । लोत्से मलमा भएको घटनाको छानबिन भएर दोषीमाथि उचित कारबाही नभएमा देशभर नै नकारात्मक सन्देश जाने महतको बुझाइ छ ।