Logo

गणतन्त्रवादीबाटै गणतन्त्रमाथि खतरा छ– चित्रबहादुर केसी



काठमाडौं, ३ फागुन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले गणतन्त्रमाथि गणतन्त्रवादीबाटै खतरा भएको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै सांसद केसीले सत्ता र शक्तिको रजाईँका लागि गणतन्त्र स्विकार गरेकाहरुको व्यवहार गणतन्त्र विरोधी देखिएको बताएका हुन् । ‘मैले यही सदनबाट भनेको थिए नेपालमा गणतन्त्रमाथिको खतरा गणतन्त्र पक्षधरबाटै छ भनेर । उनीहरुले मुखले गणतन्त्र स्विकार गरेपनि व्यवहार गणतन्त्र विरोधी छ । केवल सत्ता र शक्तिमा रजाईँ गर्नका लागि,’ उनले भने ।

नजिकिँदै गरेको राष्ट्रपति निर्वाचनमा विदेशी शक्तिहरुको चलखेल हुन सुरु गरेको उनको आरोप छ । विदेशी राष्ट्रहरुको चलखेलले नेपालको स्वाभिमान, नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि आँच आएको उनको दाबी छ । भारतीय विदेश सचिव विजयमोहन क्वात्राको नेपाल भ्रमणतर्फ लक्षित गर्दै केसीले नेपालका ठूला राजनीतिक दल विदेशी शक्ति राष्ट्रसँग लम्पसार परेर आफ्नो दुनो सोझ्याउन लागिपरेको उनको आरोप छ ।

‘नेपालमा अहिले चर्चाको विषय छ, राष्ट्रपति कसलाई बनाउने भनेर । त्यस शिलशिलामा शक्ति राष्ट्रहरुले यहाँ राष्ट्रपतिको चुनावमा आफ्नो देशको अनुकूल राष्ट्रपति बनाउन खेल खेलिराख्या छ । यसले नेपालको स्वाभिमान, नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइराखेको छ । हामीलाई लाज लाग्दैन ? विदेशी शक्ति राष्ट्रका मान्छेहरु आउँदा लम्पसार परेर उनीहरुको आशिर्वादबाट हामीले आफ्नो दुनो सोझ्याउने काम गरिराख्या छौं । यसले वास्तवमा राष्ट्रको स्वाभिमान, राष्ट्रको इज्जत, राष्ट्रको सार्वभौमतामाथि खलल पार्ने काम भइराखेको छ,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot