Logo

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसको विश्वासको मत भारी भएको छ– डम्बर खतिवडा



काठमाडौं, ५ फागुन । राजनीतिक विश्लेषक डम्बर खतिवडाले राष्ट्रपति निर्वाचनबाट सत्ता गठबन्धनमा संकट आउने दाबी गरेका छन् । हजो (बिहिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा गरेर कांग्रेसको उम्मेदवारलाई सघाउन खोजेको दाबी गरे। एमालेले सभामुख र राष्ट्रपति दुवै पाएमा आफू अप्ठ्यारोमा पर्ने प्रचण्डको बुझाइ रहेको उनले बताए ।

‘माओवादीले राष्ट्रिय सहमतिको उम्मेदवार खोज्ने भनेको छ । एउटा दलसँगको गठबन्धनमा हुँदाहुँदै त्यो गठबन्धनलाई किनारा नगरी गठबन्धनको दलले राष्ट्रिय सहमति उम्मेदवार भनेर उसले कांग्रेसको उम्मेदवारलाई संक्रेत गरिराखेको छ । एमालेले सभामुख, राष्ट्रपति दुवै पाएमा प्रधानमन्त्री दवाबमा पर्ने हुनाले शक्ति सन्तुलनका लागि कांग्रेसलाई राष्ट्रपति भन्ने प्रचण्ड र माओवादीको कुरा छ । यसले गर्दा गठबन्धनमा अवश्य संकट आउँछ,’ उनले भने ।

कांग्रेस र माओवादीबीच बाक्लिएको सम्बन्धनका आधारमा यो गठबन्धन टुट्दा कुनै आश्चार्य मान्न नहुने उनले बताए ।अहिले जनताले देशको राजनीतिमा धेरै आशावादी हुने अवस्था नरहेको उनको दाबी छ । आफूले छाडेर आएको गठबन्धनसँग फेरि नजिकिनु प्रचण्डको अवसरवाद भएको उनले बताए । अहिले सरकारमा गएका दलहरुले संसदीय लोकतन्त्रको मुल्य मान्यताकोसमेत पालना नगरेको उनको आरोप छ । संसदमा प्रतिपक्षमा बस्नुपर्ने कांग्रेसलेसमेत सरकारलाई समर्थन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारी बोकाएको उनको बुझाइ छ ।

‘यो नेपालको राजनीतिको विडम्बना हो । म यसलाई आश्चर्यजनक भन्छु । उहाँलाई समर्थन दिएर सहयोग गरेको हो की उहाँलाई भारी बोकाएको हो ? चारतिरबाट डोरीले बाँधेको जस्तो । मलाई त त्यो समर्थन आवश्यक थिएन भन्ने लाग्छ । त्यो समर्थनले प्रचण्डको राजनीतिक भविष्य कमजोर भयो,’ उनले भने । अहिलेको राजनीतिक अस्थिरताले समुन्नत लोकतन्त्र, आर्थिक समृद्दि, सुशासन, सामाजिक न्याय र समावेशिता प्राप्त गर्न सकिने सम्भावना न्युन रहेको उनको दाबी छ ।

यसभन्दा अघिका राष्ट्रपतिले शक्तिको अभ्यास गरेका कारण अहिले सबैदलले राष्ट्रपतिमा लागिपरेको उनले बताए । प्रथम राष्ट्रपति रामबरण यादवदेखि विद्यादेवी भण्डारीसमेतले संविधानको सीमा भुलेर शक्तिको अभ्यास गरेको उनको आरोप छ । नेताहरुले राष्ट्रपति पदको दुरुपयोगका लागि आफू अनुकूलको मध्यमस्तरको कार्यकता खोजि गरेको उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्