Logo

राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पक्षमा छौं तर एमालेको उम्मेदवारलाई समर्थन गर्दैनौं– प्रकाश ज्वाला



काठमाडौं, ६ फागुन । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वालाले राष्ट्रपतिको निर्वाचनमा आफूहरु राष्ट्रिय सहमतिको पक्षमा रहेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएसँगै राष्ट्रिय सहमतिको वातावरण बनेको बताएका हुन् । आफूहरु राष्ट्रिय सहमतिको पक्षमा भएपनि एमालेले उठाएको उम्मेदवारलाई समर्थन गर्न नसक्ने उनले बताए । ‘प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको कुरा ल्याउनु भएको छ । विश्वासको मत दिने दलहरुलाई बोलाएर उहाँले सर्वदलीय बैठक पनि गर्नुभयोे । यो निकै सकारात्म छ । राष्ट्र निकै संकटमा छ । आर्थिक रुपमा हामी धेरै अप्ठ्यारोमा छौं । अनेकौं खाल्का समस्याहरु छन् । स्वास्थ्य क्षेत्रको समस्या छन् । शिक्षा क्षेत्र त्यस्तै डामाडोल छ । जनताका जीवनसँग जोडिएका विषय जर्जर छन् । यस्तो अवस्थामा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कुराले पनि वातावरण बनेकै छ । राष्ट्रका समस्या समाधानका निम्ती राष्ट्रिय सहमति बन्नुपर्छ,’ उनले भने ।

एकीकृत समाजवादीको पोजिसन क्लियर रहेको बताउँदै उनले राष्ट्रपति निर्वाचनमा एमालेको उम्मेदवारलाई कुनै हालतमा पनि समर्थन गर्न नसकिने बताए । ‘गठबन्धन त के–के हुन्छ ? तर, हामी ओलीलाई समर्थन गर्न सक्दैनौं । त्यसका कारण धेरै छन् । हाम्रो आफ्नो पोजिसन क्लियर छ । कसलाई भोट दिने, आफ्नै उम्मेदवार उठाउने कि त्यो बारेमा छलफल होला तर प्रष्ट कुरा के छ भने एमालेको उम्मेदवारलाई हामी समर्थन गर्न सक्दैनौं,’ उनले भने ।

राष्ट्रिय सहमतिको वातावरण नबनेको खण्डमा एकीकृत समाजवादीको समर्थन स्वभाविक रुपमा नेपाली कांग्रेसलाई हुने उनको दाबी छ । कांग्रेस र आफूहरु अहिले संसदको प्रतिपक्षी दल भएकाले कांग्रेस–एकीकृत समाजवादीको गठबन्धन हुन स्वभाविक भएको उनले बताए । जनतासँग जोडिएका र राष्ट्रियतासँग जोडिएका काम गर्नका लागि एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएको बताए । एकीकृत समाजवादीले सरकारको स्थायित्वको लागि विश्वासको मत दिएको दाबी गर्दै उनले अहिले सरकारमा सहभागी हुन कुनै हतार नरहेको बताए । ‘हाम्रो पार्टीभित्र सरकारका नगई बाँचिदैन, नगई हुँदैन भन्ने छैनन् । वातावरण बन्दाखेरी हामी पनि सम्मानजनक रुपमा सरकारमा जाने परिस्थिति बन्यो बने जानै हुँदैन भन्ने होइन,’ उनले भने ।

 

 



प्रतिक्रिया दिनुहोस्