Logo

प्रचण्ड आफैं एमालेलाई राष्ट्रपति दिन आउनु भएको हो– योगेश भट्टराई



काठमाडौं, ६ फागुन । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले एमालेकै उम्मेदवार राष्ट्रपति बन्ने बताएका छन् । आज (शनिबार) विरेन्द्रनगरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले सत्ता गठबन्धनमा भएको सहमति बमोजिम राष्ट्रपतिमा एमालेले सिफारिस गरेको व्यक्ति साझा उम्मेदवार बन्ने बताएका हुन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्दा एमालेसँग भएको सहमति कार्यान्वयन हुँने विश्वास व्यक्त गर्दै उनले भने– ‘प्रचण्ड कम्रेड हामीलाई खोज्दै आउनु भयो । जब बालुवाटारबाट निस्कनु भयो अनि हामीलाई खोज्नुभयो । कोही आउनुभयो भने हामी साथ दिन्छौं भनेर हामी त बसिराखेकै थियौं नि । प्रचण्ड कम्रेडलाई हामीले नत्थी लाएर तानेको होइन । उहाँ हामीलाई खोज्दै आउनु भएको हो ।

कांग्रेससँगको सत्ता गठबन्धन तोडेर आएका प्रचण्डले आधा–आधा कार्यकाल प्रधानमन्त्री, राष्ट्रपति र सभामुख एमालेलाई भन्दै पस्ताव गरेको भट्टराईको दाबी छ । प्रचण्डको प्रस्तावमा एमालेले कुनै आपत्ति नजनाएको उनले बताए ।

‘उहाँले नै प्रस्ताव के गर्नुभयो भने पाँच वर्षमा आधा–आधा प्रधानमन्त्री । त्यो हाम्रो प्रस्ताव होइन । पहिलो चरणमा म प्रधानमन्त्री हुन्छु किन भने महिलो चरणमा म प्रधानमन्त्री हुन्छु भन्ने कुरा कांग्रेसले मानेन । त्यसकारण म छाडेर आए उहाँले भन्नु भएको हो । एमालेले सभामुख र राष्ट्रपति लिन उहाँले नै भन्नु भएको हो । त्यसमा एमालेले आपत्ति जनाएको छैन । उहाँसँग हामीले मागेको होइन, उहाँ आफैं दिन आउनु भएको हो,’ उनले भने ।

एमालेको ‘ग्रास रूट’ अभियानमा रहेको नेता भट्टराईले आफूहरु जनताको वास्तविक अवस्था बुझ्ने र पार्टीलाई थप सुदृढ र बलियो बनाउने अभियानमा रहेको बताए ।

 



प्रतिक्रिया दिनुहोस्