Logo

राष्ट्रपतिमा राष्ट्रिय सहमति माओवादीको बटमलाइन हो– ईश्वरचन्द्र ज्ञवाली



काठमाडौं, ७ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता ईश्वरचन्द्र ज्ञवालीले विगतका राष्ट्रपतिहरुको कदमले राष्ट्रिय सहमतिको आवश्यकता निम्त्याएको टिप्पणी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एउटै पार्टीभित्र सबै पद रहँदा देशको शासन सत्ता निरंकुशतातर्फ धकेलिने खतरा भएको बताए । ‘राष्ट्रिय सहमतिको आधारमा हुने सहमतिलाई प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो बटमलाइन हो । अतीतका जुन घटनाहरु छन्, रामवरण यादवको सन्दर्भमा एउटा घटना घट्यो । विद्यादेवी भण्डारीको पालामा पनि थुप्रै विवादास्पद कुराहरु भए । त्यसले गर्दा एउटै पार्टीका सबैचिज हुँदा राज्यसत्तामा हिजोको निरंकुश परम्पराको सुरुवात हुने त होइन ? कतै प्रतिगमनतर्फ फर्कने परिस्थितिको सिर्जना हुने त होइन ? भन्ने प्रश्नको आधारमा राष्ट्रिय सहमतिको खोजी गरिएको हो,’ उनले भने ।

राष्ट्रपतिमा राष्ट्रिय सहमति नबन्दा मुलुकको राजनीति अस्थिरतातर्फ धकेलिने उनको बुझाइ छ । मुलुकको समृद्धि र विकास, राजनीतिक स्थिरता र राष्ट्रिय सहमति अपरिहार्य रहेको उनले बताए । ‘यो राष्ट्रको हितको कुरा हो । राष्ट्रलाई कसरी अगाडि बढाउने, समृद्धि र विकासतर्फ लैजाने भन्ने प्रश्न सबैभन्दा महत्वपूर्ण प्रश्न हो जस्तो लाग्छ । त्यसको निम्ति सिङ्गो राष्ट्रले एउटा सहमति कायम गर्न र विकास र समृद्धिको सन्दर्भमा देशलाई स्थिरतातर्फ लैजाने र स्थिर राजनीतिको माध्यमबाट विकास र समृद्धिमा जानको निम्ति यो राष्ट्रिय सहमतिको खोजी भएको हो । यदि राष्ट्रिय सहमति नहुने हो भने दिनदिनै सरकार ढल्ने र बन्ने श्रृङ्खला सुरु भयो भने त्यसले राष्ट्रलाई अस्थिरतातर्फ लैजान्छ र अस्थिरताले देशलाई भलो गर्दैन,’ उनले भने ।

 

 



प्रतिक्रिया दिनुहोस्