Logo

किन गरे मुख्यमन्त्री शाहले आफू नेतृत्वको सरकार पाँच वर्ष नै टिक्ने दाबी ?



काठमाडौं, ८ फागुन । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफू नेतृत्वको प्रदेश सरकारले पाँच वर्ष नै निरन्तरता पाउने बताएका छन् । मुख्यमन्त्री शाहले आज (सोमबार) पत्रकार सम्मेलन गरी पूरै अवधि सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफूले गर्ने दाबी गरेका हुन् । नेकपा (एमाले) बाट मुख्यमन्त्री नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै सबैभन्दा धेरै सांसद सदस्य रहेको दलको संसदीय दलको नेताका हैसियतमा प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । कूल ५३ सदस्यीय प्रदेश सभामा कुनै दलको पनि स्पष्ट बहुमत छैन । निर्णायक भूमिकामा नागरिक उन्मुक्ति पार्टी रहेको छ । नाउपाले टीकापुर घटनामा अदालतबाट दोषी करार भई कैद भुक्तान गरिरहेका रेशम चौधरीको रिहा नभएसम्म सरकार बनाउनका लागि कुनै पार्टीलाई पनि सहयोग नगर्ने बताउँदै आएको छ । नाउपाको समर्थन नपाएरै रावल नेतृत्वको प्रदेश सरकार ढलेको थियो । मुख्यमन्त्रीमा नियुक्त भएसँगै शाह आफू नेतृत्वको सरकार जोगाउनका लागि निकै सकृय देखिएका छन् । उनले रेशम चौधरीको घरमै पुगेर उनकी आमासँग भेट गरेका छन् । भेटमा उनले आफू रेशमको रिहाइको पक्षमा रहेको र उनलाई छुटाउन सक्दो प्रयत्न गर्ने आवश्वासन दिएका थिए । आजको पत्रकार सम्मेलनमा उनले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन् ।

केन्द्रमा पुरानै सत्ता गठबन्धन ब्युँताउने तयारी
नेकपा (एमाले) को समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय सत्ता गठबन्धनका घटकहरुसँग भन्दापनि नेपाली कांग्रेससँग बढी नजिक देखिएका छन् । प्रचण्ड यसपटक एमालेप्रति त्यति ढुक्क छैनन् । गत पुष १० मा आफू प्रधानमन्त्रीमा नियुक्त हुँदा उनले सभामुख र राष्ट्रपति एमालेको उम्मेदवारलाई दिने सहमति गरेपनि अहिले राष्ट्रपतिमा राष्ट्रिय सहमति गरेर साझा व्यक्तिको खोजी गर्नुपर्ने पक्षमा छन् । अर्थात् प्रचण्ड एमालेको भन्दा कांग्रेसको उम्मेदवारलाई राष्ट्रपति बनाएर आफ्नो सत्तारोहणको यात्रा लम्ब्याउन चाहन्छन् । केन्द्रमा ब्युँतिन लागेको पुरानो सत्ता गठबन्धनको आडमा मुख्यमन्त्री शाह आफूलाई माओवादीका सांसदहरुको समर्थन हुनसक्ने आँकलनमा छन् ।

रेशम चौधरी फकाउँदै मुख्यमन्त्री शाह
रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टीमा ७ जना प्रदेश सभा सदस्य छन् । कूल ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री शाहले विश्वासको मत पाउनका लागि कम्तीमा पनि २७ जना सांसदको समर्थन आवश्यक पर्छ । अहिले चार जना प्रदेश सभा सदस्य रहेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पनि सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी छ । नेकपा (एस), नाउपा र आफू नेतृत्वको पार्टीका सांसदहरुको समर्थनमा यो सरकारलाई पाँच वर्ष लामो समय टिकाउने अभ्यासमा उनी देखिएका छन् । आफू मुख्यमन्त्रीमा नियुक्त भएको भोलिपल्टै उनले रेशम चौधरीकी आमालाई भेट गरेका छन् । रेशमका घरमै पुगेका मुख्यमन्त्री शाहले आफू रेशमको न्यायको पक्षमा रहेको र रिहाइका लागि सक्दो प्रयास गर्ने आश्वासनसमेत दिएका थिए । लगत्तै उनले काठमाडौंस्थित् डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीलाईसमेत भेट गरेका छन् । उनले नाउपाकी अध्यक्ष रहेकी रञ्जिता श्रेष्ठसँग पनि पटक– पटक भेटवार्ता गरिरहेका छन् । तर, मुख्यमन्त्री शाह नाउपासँग त्यतिधेरै ढुक्क भने छैनन् ।

माओवादीसँग सहकार्यको जमर्को

मुख्यमन्त्री शाह नाउपासँग त्यत्तिधेरै ढुक्क भने छैनन् । रावल नेतृत्वको सरकारको नियति नदोहोरियोस् भन्नका निमित्त विभिन्न दलसँग छलफल र संवादमा उनी जुटेका छन् । माओवादी केन्द्रका सांसदहरुलाई विश्वासमा लिएर सरकार जोगाउने कसरतमा उनी छन् । सात सदस्य रहेको नागरिक उन्मुक्तिले विश्वासको मत नदिएमा उनी नेतृत्वको सरकार जोगाउने अन्तिम विकल्प माओवादी केन्द्र नै हो । उनी नेतृत्वको सरकारको भविष्य नाउपा र माओवादीकै हातमा छ । यी दुवै पार्टीको समर्थन मुख्यमन्त्री शाहले पाएनन् भने सुदूरपश्चिम प्रदेश सरकार विघटनको संघारमा पुग्ने छ । मुख्यमन्त्री शाह जसरी पनि आफू नेतृत्वको सरकार जोगाउने कसरतमा लागेको बेला पत्रकार सम्मेलन गरी विश्वासको मत पाउनेमा ढुक्क रहेको बताउनुलाई विशेष रुपमा लिइएको छ । उनले माओवादी केन्द्रका नेताहरुबाट समेत सरकारलाई विश्वासको मत दिने ‘ग्रीन सिग्नल’ पाएको हुनसक्ने अनुमान राजनीतिक वृत्तको रहेको छ ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्