Logo

नेपालमा गणतन्त्रको विकल्प छैन भन्ने कुरामा राप्रपा सहमत छैन– बुद्धिमान तामाङ



काठमाडौं, ९ फागुन । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष एवं सांसद बुद्धिमान तामाङले देश र जनताको काम गर्नका लागि आफूहरु सरकारमा सहभागी भएको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्,’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राप्रपाबाट मन्त्री बनेकाहरुले नयाँ कामको सुरुवात गरिसकेको बताएका हुन् । ‘देश र जनताका लागि नयाँ कामहरु गर्न हाम्रो पार्टी सरकारमा गएको हो । हाम्रो पार्टीबाट गएका मन्त्रीहरुले नयाँ कामको सुरुवात गरिरहेका छन् । मेरो विचारमा जुन ठाउँको बारेमा जोसँग ज्ञान छ, त्यो मान्छेलाई नै त्यो ठाउँमा पठाउनु पर्छ,’ उनले भने ।

साथै, राप्रपाबाट मन्त्री बनेका विक्रम पाण्डे व्यवसायी मात्रै नभएर उद्योगी पनि भएको उनको दाबी छ । उनीजस्ता मान्छे काम गर्ने ठाउँमा जाँदा राम्रा कामहरु गर्न सकिने उनले बताए । राप्रपा आजको दिनमा संघीय लोकतान्त्रिक गणतन्त्रमा सहकार्य गर्नलाई तयार भइसकेको उनले बताए । तर, पनि देशमा गणतन्त्रको विकल्प छैन भन्ने कुरामा आफू सहमत नभएको उनले बताए । ‘हाम्रो पाटीे आज संघीय लोकतान्त्रिक गणतन्त्रमा सहकार्य गरेर जान तयार भएका छ । तर, हाम्रो देशमा गणतन्त्रको बिकल्प छैन भन्ने कुरामा राप्रपा सहमत छैन । यो व्यवस्थासँग हामीले सहकार्य गरेका हौं । गणतन्त्र हामीले मानेका छौं । हामीले गणतन्त्र मान्नुको पछाडि दुईवटा कुरा छन्, संविधानले यो देशको सावैभौमसत्ता मानव अधिकार, राष्ट्रिय अखण्डता, नागरिक अधिकारबाहेक अरु सबै परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ । त्यसैले यो परिवर्तन हुन्छ । अहिले हाम्रो १४ सिट मात्रै भएर हो । बहुमत भएपछि हामी परिवर्तन गर्छौं,’ उनले भने ।

अहिलेको सरकारमा आफूहरु देश र जनताको हितका लागि गएको दाबी गर्दै उनले देश र जनताभन्दा पार्टीमाथि फाइदा हुने गतिविधि भएमा सरकारबाट बाहिरिने बताएका छन् । आफूहरुको एजेण्डा अहिलेको ठूला दलहरु कसैसँग पनि नमिल्ने भएकाले देश र जनताको हितमा काम गर्न सकुन्जेल सरकारमा बस्ने उनको भनाई छ । साथै, कुनै पार्टीप्रति राप्रपाको पूर्वाग्र नरहेको उनको दाबी छ । ‘हाम्रो पार्टी प्रजातन्त्रप्रति प्रतिबद्ध छ । दोस्रो कुरा हामी राष्ट्रवादी पार्टी हो । त्यसकारण हामी एमाले, कांग्रेस कतैतिर पनि टिक्दैनौं । हामी आफ्नै ठाउँमा बस्छौँ । जुन दिन देश र जनतालाई घाट र र पार्टीलाई फाइदा हुने स्थिति आउँछ त्यो बेलामा हामी सरकारबाट फिर्ता हुन सक्छौं,’ उनले भने ।

राष्ट्रपतिको निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयमा पार्टीभित्र छलफल हुनै बाँकी रहेको उनले बताए । पार्टीमा छलफलका क्रममा राष्ट्रपति निर्वाचनमा भाग लिने विषयलाई लिएर भोटिङ हुनसक्ने अवस्था पनि आउन सक्ने उनको भनाई छ । राष्ट्रपति निर्वाचनमा भाग लिने वा नलिने भन्ने कुरामा पार्टी बैठकको निर्णय नै अन्तिम हुने उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्