Logo

राष्ट्रपतिमा माधवको व्यापक चर्चा, मान्लान् त देउवा र दाहालले ?



काठमाडौं, ९ फागुन । राष्ट्रपतिको निर्वाचन नेपाली राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ । राष्ट्रपति निर्वाचनलाई लिएर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि लिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसमेतको चर्चा भइरहेको बेला राजनीति युटर्नको संक्रेत देखिएको छ । अहिले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि लविङ गरिरहे पनि चर्चा छ । हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भएर फर्किएलगत्तै नेता नेपालले सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भेटवार्ता गरेका थिए । भेटमा नेता नेपालले आफू राष्ट्रपतिमा राष्ट्रिय सहमतिको उम्मेदवार बन्न तयार रहेको बताए । त्यसैगरी प्रधानमन्त्र प्रचण्डले पनि पोखरामा बाह्रबुँदे समझदारी गर्ने दलहरु एक ठाउँमा आउनुपर्ने बताएसँगै राजनीति वृत्तमा अर्को बहस सुरु भएको छ । तत्कालीन बाह्रबुँदे सहमतिको हस्तिका रुपमा नेता नेपालको नाम अग्रस्थानमा आउँछ । यसआधारमा पनि प्रचण्ड नेता नेपाललाई साझा उम्मेदवार मान्नका लागि तयार छन् ।

केपी ओलीले राष्ट्रपतिमा माधवलाई अगाडि सार्लान् त ?
नेकपा (एमाले) बाट छुट्टिएर छुट्टै पार्टी दर्ता गरेका माधव नेपाल र केपी शर्मा ओलीबीच अझैपनि सम्बन्धमा सुधार आएको छैन । उनीहरुबीच  आरोप–प्रत्यारोप चलिरहेकै छ ।सम्बन्ध सुधार नहुँदा पनि एमाले अध्यक्ष ओलीले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवारको रुपमा अगाडि सारेर वर्तमान सत्ता गठबन्धन जोगाउने कसरत गरेको देखिन्छ । अध्यक्ष ओलीको दोस्रो योजनामा नेपाल नै रहेको उनीनिकट स्रोत बताउँछ । गत पुष १० मा प्रचण्ड प्रधानमन्त्री बन्दा सभामुख र राष्ट्रपति एमालेको भागमा परेकोले सहमति कार्यान्वयन हुनुपर्ने ओलीको अडान छ । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका ओलीले राष्ट्रपतिको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डसँग पटक–पटक भेटवार्ता गरिरहेका छन् । यस आधारमा ओली सकभर एमालेबाटै राष्ट्रपति बनाउने कसरतमा छन् । त्यसो नहुँदै गर्दा पूर्व एमालेको हैसियतमा नेता नेपाललाई राष्ट्रपतिको उम्मेदवार स्विकार्न ओली तयार छन् । यस विषयमा नेता नेपाल र ओलीबीच गोप्य भेटवार्तासमेत भएको बालकोट स्रोत बताउँछ ।

प्रचण्डको ‘ग्रीन सिग्नल’ कसलाई ?
नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई पार्टीले राष्ट्रपतिको उम्मेदवारको बारेमा निर्णय लिन सम्पूर्ण अधिकार प्रत्यायोजन गरेको छ । प्रचण्ड यसपटक सत्ता साझेदार दल एमालेसँग त्यति धेरै ढुक्क छैनन् । एमालेबाटै राष्ट्रपति र सभामुख भएमा आफू चेपुवामा पर्ने प्रधानमन्त्री दाहालको बुझाइ छ । त्यसकारण पनि उनी एमालेको उम्मेदवार राष्ट्रपति नबनोस् भन्ने चाहन्छन् । राष्ट्रिय सहमतिको कुरा ल्याएर उनले एमालेको उम्मेदवार पन्छाउने कोशिस गरिरहेका छन् । प्रचण्ड सकभर कांग्रेसको उम्मेदवारलाई राष्ट्रपति बनाएर आफ्नो सत्तारोहणको यात्रा लम्ब्याउन चाहन्छन । त्यसो नहुँदा र कांग्रेसको समर्थन हुँदैगर्दा अध्यक्ष नेपाललाई राष्ट्रपतिको उम्मेदवार स्विकार्ने पक्षमा प्रचण्ड छन् ।

कांग्रेसको फरक मत
राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको पक्षमा रहेको नेपाली कांग्रेस साझा उम्मेदवार भने आफ्नै दलले नै सिफारिस गरेको व्यक्ति हुनुपर्ने पक्षमा छ । कांग्रेस प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल भएकाले पनि राष्ट्रिय सहमति बन्दै गर्दा राष्ट्रपति आफूहरुले पाउनुपर्ने कांग्रेसका शीर्ष नेताहरुले बताउँदै आएका छन् । सहमति बनेमा कांग्रेसको उम्मेदवारलाई साझा उम्मेदवार बनाउने र त्यसो नहुँदा जित्ने तयारीका साथ निर्वाचनमा होमिने कांग्रेसको योजना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot