Logo

राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई माओवादीसहितका दलहरुको समर्थन रहन्छ– रमेश लेखक



काठमाडौं, १० फागुन । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति निर्वाचनमा कांग्रेसको दाबी स्वभविक भएको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रपति निर्वाचन मण्डलमा सबैभन्दा धेरै मतभार रहेको पार्टी कांग्रेस भएकाले दाबी स्वभाविक भएको बताएका हुन् । ‘हामीले मरिहत्य गरेको छैनौं । स्वभाविक रुपले दाबी गर्नसक्ने, दाबी गर्नुपर्ने, राष्ट्रपतिका लागि मतदान गर्ने निर्वाचन मण्डलमा सबैभन्दा धेरै मतभार भएको पार्टी भएको हुनले उम्मेदवारी दिनु स्वभाविक हो,’ उनले भने ।

अहिलेको राष्ट्रपति निर्वाचनमा कुनै दलको स्पष्ट बहुमत नभएकाले कांग्रेसको उम्मेदवारको जित सुनिश्चित रहेको उनको दाबी छ। संविधानले परिकल्पना गरेको राष्ट्रपति बनाउनका लागि कांग्रेस लागि परेको उनले बताए । ‘हामी हाम्रो संविधानले जस्तो राष्ट्रपतिको परिकल्पना गरेको छ, संवैधानिक राष्ट्रपति, आलंकारिक राष्ट्रपतिको कल्पना गरेको छ । राजनीतिक दलभन्दा माथि उठेको, सबै राजनीतिक दललाई समान कोणले हेर्नसक्ने, सबै जनताका लागि समान व्यवहार गर्नसक्ने संविधानले परिकल्पना गरेको छ । त्यस्तो राष्ट्रपति बनाउनका लागि हामी लागि परेका छौं,’ उनले भने ।

राष्ट्रपति निर्वाचनमा कांग्रेसले अगाडि सारेको उम्मेदवार सबै रुपले सक्षम रहने उनको दाबी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाहेको राष्ट्रिय सहमति बमोजिम नै आफूहरु अगाडि बढेको उनले बताए । कांग्रेसको उम्मेदवारलाई नेकपा (माओवादी केन्द्र) लगायतका दलले साथ दिनेमा कुनै शंका नरहेको उनले बताए । विगतका राष्ट्रपतिलाई पार्टीको कार्यकर्ता र रबर स्ट्याम्पको रुपमा प्रयोग गरिएको उनको आरोप छ । सविधान बमोजिमको राष्ट्रपति बनाउन अहिले कांग्रेसको उम्मेदवार बाहेक अर्को कुनै व्यक्ति हुन नसक्ने उनले बताए ।शीतल निवासले सिंहदरबारमा को बसेको छ भनेर विभेद गर्न नहुने उनले बताए ।

‘हामी राष्ट्रपतिको पदलाई कुनै एउटा पार्टीको कार्यकर्ता, एउटा पार्टीको निर्देशनमा चल्ने राष्ट्रपति अथवा क्रियाशील हुन चाहने राष्ट्रपतिका सम्भावनालाई रोकेर हाम्रो संविधानको भावना बमोजिमको राष्ट्रपतिका रुपमा हेर्न चाहन्छौं, बनाउन चाहन्छौं । अहिले हाम्रो राष्ट्रपतिको दाबी भनेको राष्ट्रपतिलाई साच्चिकै हाम्रो संविधान बमोजिमको राष्ट्रपति बनाउने हो । राष्ट्रपति कुनै अमुक पार्टीको रबर स्ट्याम्प, एउटा निश्चित पार्टीका लागि काम गर्ने हुनुहुँदैन । त्यो भनेको सबैदलका लागि समान धारणा राख्ने, समान दृष्ट्रिकोणले हेर्ने हुनुपर्छ । शीतल निवासले सिंहदरबार वा बालुवाटारमा को मान्छे बसेको छ भन्ने दृष्ट्रिकोणले हेर्नुहुन्न । संविधानले भनेको बमोजिम काम गर्ने हो । संविधानमा लगाम लगाउने कुरा गरेको छ भनेमात्र लगाम लगाउनु पर्छ,’– उनले भने ।

कांग्रेसले राष्ट्रपति निर्वाचनमा सहयोग गर्नका लागि प्रधानमन्त्री प्रचण्डसँग पनि प्रस्ताव राखेको उनले खुलासा गरे । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपतिको उम्मेदवार बन्ने कुरामा कुनै पस्ताव नआएको उनको दाबी छ । अहिलेको सरकार अत्यन्त बेमेल भएको पार्टीसँगको गठबन्धनमा बनेकाले यसको दीगोपना नरहेको उनको दाबी छ ।  कांग्रेसले सरकारको स्थिरता र प्रतिनिधि सभाको पूर्ण कार्यकाल हेर्न चाहेको उनले बताए ।

साथै, राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई माओवादीसहितका अन्य दलहरुकोसमेत समर्थन प्राप्त हुने उनको दाबी छ । ‘हामीले अनुरोध, आग्रह गरेका छौं । हामी आशा गरिराखेका छौं, विश्वास गरिराखेका छौं, हामीलाई माओवादीसहितका अरु पनि दलहरुको समर्थन प्राप्त हुन्छ । कमसेकम यति समर्थन प्राप्त हुन्छ । जति मतले कांग्रेसले राष्ट्रपतिको चुनाव जित्छ,’ उनले भने ।

 

 



प्रतिक्रिया दिनुहोस्