Logo

निर्वाचन अघिका प्रतिवद्धता पूरा गर्न निरन्तर लागिरहेका छौं– विष्णुबहादुर योगी



काठमाडौं, १० फागुन । प्युठान नगरपालिकाका नगर प्रमुख विष्णुबहादुर योगीले निर्वाचन अघिका प्रतिवद्धता पुरा गर्न निरन्तर रुपमा लागिरहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्युठान नगरपालिकाको विकास र समृद्धिमा आफू लगायतको टिम लागिरहेको बताएका हुन् । ‘हामी निर्वाचित भइसकेपछि चुनावको बेलामा गरेका प्रतिवद्धता पूरा गर्नका लागि लागिरहेका छौं । निर्वाचित भएर आइसकेपछि हामीले प्युठान नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका निम्ति स्पष्ट योजना बनाएका छौं । शैक्षिक क्रियाकलापबाट त्यहाँका जनता र समुदायले गरेको अपेक्षा पूरा गर्न निरन्तर रुपमा लागिपरेका छौं,’ उनले भने ।

स्थानीय तहमा बजेट कार्यान्वयनमा भने चुनौति रहेको उनले बताए । निर्वाचनका बेला जनताबीच गरेको प्रतिवद्धता पुरा गर्नका लागि चुनौतिहरुको सामना गर्दै निरन्तर लागि रहेको उनले बताए । स्थानीय सरकारसँग जनताको अपेक्षा धेरै रहेको उनले बताए । जनताहरुले विहानै उठ्दा स्थानीय सरकार देखियोस् भन्ने चाहेको बताए । आफूलाई स्थानीय सरकार सञ्चालनको क्रममा प्रदेश सरकार र संघीय सरकारसमेतको सहयोग रहेको बताए । नगरको विकासका लागि सिंगो टिम एकतावद्ध भएर लागि रहेको उनले बताए ।

‘प्युठान नगरपालिका बजेट विनियोजन गर्दा कार्यान्वयनको क्षेत्रमा चुनौती छन् । हामीले काम गर्दै जाँदा जनताका अपेक्षा तत्काल पुरा गर्ने सरकार स्थानीय सरकार हो । प्राविधिक पक्षहरु, त्यहाँको केही राजनीतिक पक्षहरुमा केही चुनौतीहरु देखापरेका छन् । तर, हामी निरन्तर रुपमा लागिरहेका छौं,’ उनले भने । आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्यमा सुधार गर्ने, कृषि र सिँचाईँसँग जोडिएका कुरामा विशेष काम गर्ने बताए । आगामी राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको विकल्प नरहेको र माओवादीको बटम लाइन पनि त्यही रहेको उनले बताए । राष्ट्रिय सहमति जुटेको खण्डमा डा. बाबुराम भट्टराईलाई राष्ट्रपति बनाउन सकिने उनको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस्